धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्क फंलाटेकी ब्लड क्यान्सरपीडित बालिकालाई आर्थिक सहयोग प्राप्त भएकाे छ । विदेशमा रहेका युवाहरुको अगुवाईमा रकम संकलन गरी ब्लड क्यान्सरपीडित साक्षी लिम्बूलाई तीन लाख १४ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
सहिदभूमि गाउँपालिका–७ घर भइ हाल जापानमा रहेका मिलन छिलिङको अगुवाईमा संकलित रकम सहिदभूमि–७ को सिद्धदेबी माध्यमिक विद्यालयले धनकुटामा एक कार्यक्रम गरेर बालिकाका बुवा गणेश लिम्बूलाई हस्तान्तरण गरेकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर राई, प्रधानाध्यापक रत्न राई र शिक्षा विकास तथा समन्वय इकाई धनकुटाकी प्रमुख मोहन राईले रकम हस्तान्तरण गरेका हुन् ।
गत फागुन ९ गतेदेखि काठमाण्डौंको कान्ति बाल अस्पतालमा उपचाररत बालिकाको २४ पटक उपचार गर्नुपर्नेमा ४ पटकको उपचार सकिएको गणेशले जानकारी दिए । उनका अनुसार पहिलेको अवस्थाभन्दा बालिकाको स्वास्थ्यमा धेरै सुधार आएको छ ।
रकम संकलन गर्ने छिलिङ सिद्धदेवी माविका पूर्वशिक्षकसमेत रहेकाले सोही विद्यालयको आयोजनामा रकम हस्तान्तरण गरिएको कार्यक्रम समन्वयकर्ता ईश्वरी सुवेदीले जानकारी दिए ।
गणेश भलिवल खेलाडिसमेत रहेकाले यस अघि पनि गाउँपालिकाले १० हजारसहित छथर स्पोर्सको पहलमा देश तथा बिदेशबाट ३ लाख ८६ हजार आर्थिक सहयोग जुटेको थियो ।