पत्रपत्रिका खबर

विराटनगर । ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयार कारागार चलान भएका छन्।

Advertisement

विराटनगर महानगरपालिका–९ घोघापुल चोकका उनीविरुद्ध अलगअलग जाहेरीका आधारमा १७ वटा मुद्दा दर्ता भएको थियो। न्यायाधीश ईश्वर पराजुलीको इजलासले १७ वटामध्ये १३ वटा मुद्दामा भने पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालका अनुसार पछि ठहरे बमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा १३ थान मुद्दामा मन्टुलाई थुनामा राख्न आदेश भएको हो।

वादी नेपाल सरकार र प्रतिवादी मन्टु पक्षका कानुन व्यवसायीको बहस सकिएपछि चार थान मुद्दामा भने धरौटीवापत अदालतले रकम माग गरेको छ। दाहालले चार थान मुद्दामा पाँच लाख ८० हजार रुपैयाँ धरौटी अदालतले तोकेको जानकारी दिए।

धरौटी रकम नबुझाएका उनी अदालतको आदेश अनुसार १३ थान मुद्दामा भने सोमबार कारागार चलान भएको दाहालले बताए। उनका अनुसार जाहेरवाला ममतादेवी मण्डल वादी भएको मुद्दामा २० हजार, जाहेरवाला मो. सरिद मियाँ वादी भएको मुद्दामा दुई लाख, वादी राजेन्द्र चौधरी भएको मुद्दामा ४० हजार, जहेरवाला देवी खातुन वादी भएको मुद्दामा तीन लाख २० हजार रुपैयाँ धरौटी बुझाउन अदालतले आदेश दिएको छ।

मिटरब्याजमा लगानी गरी मन्टुले मोरङका १७ जना सर्वसाधारणसँग करोडौँ रुपैयाँ असुली गरेको अनुसन्धानबाट खुलेको थियो। १७ जनाको छुटाछुट्टै जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै उनीविरुद्ध माघ १२ गते ठगी र अपराधिक लाभ लिएको कसूरमा अदालतमा मुद्दा दर्ता गरेको हो।

वर्षौंदेखि सर्वसाधारणको घरजग्गा धितो पास गराएर नक्कली कपाली तमसुक बनाएर मनमौजी चर्को ब्याज लिइरहेका मन्टुले सबैसँग ९२ लाख ८८ हजार रुपैयाँ कर्जा दिएर सात करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको अनुसन्धानबाट खुलेको छ। मिटरब्याजमा ऋण दिएकोभन्दा अत्याधिक धेरै रकम असुली गरिसक्दा पनि पीडितहरुसँग अझै एक करोड ३८ लाख ९८ हजार चार सय रुपैयाँ माग गरेको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

उनका अनुसार मिटरब्याजमा लगानी गर्ने मन्टुले सर्वसाधारणको घर जग्गा राजीनामा पास गराएर किर्ते कपाली तमसुक बनाउँदै ऋण दिने गरेका थिए। मन्टुले आफ्नो नाममा ४३ र श्रीमती ज्योतिको नाममा ३३ वटा कित्ता सर्वसाधारणको जग्गा अवैध रुपमा पास गराएको फेला परेको छ। लगानी गर्दा १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने कानुनी प्रावधान छ।

तर, मन्टुले ऋण दिएपछि सर्वसाधरणसँग ६–६ महिनाभित्र तिरेमा सयकडा तीन अर्थात् वार्षिक ३६ प्रतिशत ब्याज लिने र यदि ६ महिनाभन्दा बढी लगाएमा प्रत्येक ६–६ महिनामा ब्याज साँवामा जोडी सयकडा पाँच अर्थात् वार्षिक ५६ प्रतिशत गर्दै बढाउने गरेको अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ। १७ वटा अलगअलग मुद्दाको अभियोगपत्रमार्फत मिटरब्याजी मन्टुविरुद्ध एक करोड ९२ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्तिसमेत माग दाबी गरिएको छ।

सर्वसाधारणलाई ठगी गरिरहेको आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान थाल्दा उनले चलाइरहेको मिटरब्याजको धन्दा पत्ता लागेको हो। अवैध मानिएको मिटरब्याजमा थोरै पैसा लगानी गरेर चर्को ब्याजसहित धेरै रकम असुल्ने गिरोहका नाइके मन्टु रहेको अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए। उनका अनुसार मिटरब्याजका नाममा सर्वसाधारणलाई ‘टाट’ पल्टाउने मन्टुले करोडौँ रुपैयाँ असुलेका हुन्।

उनलाई सुरुमा प्रहरीले मंसिर २९ गते पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालेको थियो। त्यो मुद्दामा धरौटीमा छुटेका उनीविरुद्ध मिटरब्याजका नाममा ठगीमा परेका सर्वसाधारणले जाहेरी दिएपछि पुनः प्रहरीले पुस १६ गते पक्राउ गरेर ठगी र अपराधिक लाभ सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान थालेको थियो।

मन्टुबाट विराटनगरसहित मोरङको धनपालथान, जहदा, रंगेली, रतुवामाई लगायतका स्थानमा बसोबास गर्ने सर्वसाधारण पीडित भएको प्रहरीले जनाएको छ। एसपी खड्काले पीडितको जाहेरीका आधारमा धाकधम्की दिँदै अकुत ब्याज असुलेर अपराधिक गिरोह चलाइरहेका मन्टुविरुद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा पनि चलाइने बताए। सम्पत्ति शुद्धिकरण विभागमा कारबाहीका लागि बुझाउनलाई उनले प्रयोग गर्ने बैंक खाता जुटाउँदै जम्मा रहेको रकमका बारेमा बुझ्ने र मालपोत कार्यालयमार्फत जग्गाको थप विवरण माग्ने काम भइरहेको जानकारी उनले दिए।-किशोर बुढाथोकीले लेखेको यो खबर आजको अन्नपुर्ण पाष्ट दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!