धनकुटा । संसद् विघटनको विरोधमा आज धनकुटामा नेपाली काँग्रेसका भातृ संस्थाहरुले मोटरसाईकल र्याली निकालेका छन् । काँग्रेस जिल्ला पार्टी कार्यालयबाट शुरु भएको र्यालीले धनकुटा बजारका विभिन्न भागको परिक्रमा गरेको थियो ।
बजार परिक्रमापछि धनकटा बसर्पाकमा पुगेर सभा गरियो । सभामा नेपाली काँग्रेसका जिल्ला सभापति अग्नी प्रसाद पौडेलले असंवैधानिक कदमको विरोधमा सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।
प्रदेश सांसद लिला सुब्बा, काँग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेपाल शिक्षक संघका १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, नेविसंघका अध्यक्ष बालानन्द दाहाल, आदिवासी जनजाती संघका अध्यक्ष श्रीकृष्ण प्रधान, नेपाल महिला संघका उपाध्यक्ष अम्बिका धमला लगायतले लोकतन्त्र र संविधान माथि प्रहार भईरहेकाले त्यसको विरोधमा सवै आन्दोलनमा उत्रनुपर्नेमा जोड दिए ।
सोही अवसरमा बसपार्कमा नेपाल विद्यार्थी संघले ‘फ्यास मुव’ प्रर्दशन गरेको छ । ओली सरकारले जनविरोधी काम गरेको भन्दै विद्यार्थीहरुले सरकारविरुद्ध नृत्य प्रस्तुत गरेका हुन् ।