- पत्रपत्रिका खवर

काठमाडौं । बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्ये मृतकको संख्या शून्यमा झरेको छ । संक्रमितको संख्या घटिरहेको बेला मृतकको संख्या बिहीबार शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार संक्रमितमध्ये तीन जनाको मृत्यु भएको थियो ।

Advertisement

गत १८ साउन २०७७ मा संक्रमित मृतकको संख्या शून्यमा सीमित हुन पुगेको थियो । त्यसयता संक्रमित मृतकको संख्या दैनिक बढ्दो क्रममा थियो । १७ साउनमा कुल मृतकको संख्या ५६ थियो । १८ साउनमा पनि कुल संक्रमित मृतकको संख्या ५६ थियो । हालसम्म संक्रमितमध्ये २ हजार २० जनाको मृत्यु भएको छ । माघयता दैनिक संक्रमितको संख्या ५ सयभन्दा कम रहेको छ ।

देशभर बिहीबार २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३ हजार २०३ जना रहेको छ । बिहीबार थप ३ हजार ७९१ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २० लाख ६० हजार ८६० पुगेको छ ।

हाल ११३ जना क्वारेन्टिनमा रहेका छन् । बिहीबार थप २९६ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै देशभर निको हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । यस्तै देशभर हाल १७२ जना कोरोना संक्रमित अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । १४६ जना आईसीयू र २६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

दुई दिनमा ३७८१६ जनालाई खोप
देशभर दुई दिनमा ३७ हजार ८१६ जनाले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भएको दोस्रो दिन (बिहीबार) २८ हजार ७३२ जनाले खोप लगाएका हुन् । बुधबार देशभरका खोप केन्द्रबाट पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए ।

बिहीबार प्रदेश १ मा ३ हजार ८४७, प्रदेश २ मा २ हजार १७४, बाग्मती प्रदेशमा ११ हजार ४६१ जनाले खोप लगाएका छन् । गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३०३, कर्णाली प्रदेशमा १ हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४१७ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार खोप लगाएका कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या देखिएको छैन । भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोरोनाविरुद्धको खोप स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएको छ । दोस्रो चरणको खोप ल्याउन सरकारले पहल गर्दै आएको छ । यद्यपि कहिले र कति मात्रामा आउने अझै निक्र्योल भएको छैन ।

पहिलो चरणको खोप अभियानमा स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालक, एम्बुलेसन्स र शववाहनका चालक तथा सहचालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिलाई प्राथमिकतामा राखिएको छ । यस्तै महिला स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेशबिन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारी र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मी पहिलो प्राथमिकतामा रहेका छन् ।- आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!