पत्रपत्रिका खवर

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध भारत सरकारबाट उपहारस्वरूप प्राप्त १० लाख डोज खोप लगाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । यसका लागि सरकारले हालसम्म सात वटै प्रदेशमा खोप ढुवानी गरेको छ भने खोप केन्द्रहरू तयारी अवस्थामा राखिएका छन् । खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिमसमेत गराइएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान बुधबार बिहान १० बजे शुभारम्भ गरिने जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सात वटै प्रदेशमा रहेका अस्पताल र काठमाडौंमा रहेका प्रमुख अस्पतालका कर्मचारी भर्चुअल विधिबाट प्रत्यक्ष जोडिएर अभियानको शुभारम्भ गरिनेछ ।

आगामी १८ गतेभित्र देशका ७७ वटै जिल्लाका ३ सय वटा खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिनेछ । स्वास्थ्यमन्त्री त्रिपाठीले लक्षित समूहलाई मात्र खोप उपलब्ध गराउन सम्बन्धित संस्थाले खोप लगाएका व्यक्तिको सूची तयार गरी सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको पनि जानकारी दिए । उनले निर्धक्क भएर खोप लगाउन आग्रह गरे ।

पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ । मन्त्री त्रिपाठीले खोप अभियानको पहिलो चरण सम्पन्न हुनुअघि नै थप खोप पनि आइसक्ने जानकारी दिए । उनले भने, ‘पहिलो चरणको खोप अभियान सकिनुअघि नयाँ खोप आउनेछ । यो अभियानलाई सफल बनाउन आग्रह गर्छु ।’

– ४ लाख ३० हजार जनालाई लगाइँदै
– बुधबार बिहान १० बजे अभियान शुभारम्भ
– पहिलो चरणको खोप अभियान १० दिनमै सकिने
– फ्रन्ट लाइनर, कैदी र वृद्धाश्रममा बस्दै आएका प्राथमिकतामा
– अभियान सकिनुअघि नै अर्को नयाँ खेपको खोप आउने

सरकारले संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिडको संक्रमणबाट मृत्यु भएका शवहरूको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीले पहिलो चरणमा खोप उपलब्ध गराउने बताएको छ । हालसम्म झन्डै २ लाख स्वास्थ्यकर्मीले खोप लगाउन फाराम भरेको बताइएको छ ।

नेपाललाई प्राप्त भएको खोप अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनिका नामक औषधि उत्पादकले संयुक्त रूपमा विकास गरेको र भारतमा रहेको सेरम इस्न्टिच्युटले उत्पादन गरेको हो । सो खोपको तेस्रो चरणको ट्रायल पनि भइसकेको छ ।

यस्तै काठमाडौं उपत्यकामा पहिलो दिन ११ वटा केन्द्रबाट खोप लगाइनेछ । एक बुथमा एक सय जनालाई खोप उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी बलम्बु अस्पताल र शहीद गंगालाल हृदयरोग केन्द्रबाट खोप उपलब्ध गराउने तयारी छ ।

यसैबीच सरकारले कोरोना संक्रमणविरुद्ध खोप खरिद प्रक्रियालाई अघि बढाएको छ । हाल उपहारस्वरूप प्राप्त खोप ४ लाख ३० हजार जनालाई पुग्ने र बाँकी खोप ल्याउन सरकारले खरिद प्रक्रियालाई अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार खोप ल्याउन पहल भइरहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले भने, ‘सरकारले उत्पादक कम्पनीबाट खोप ल्याउने प्रक्रिया अघि बढाएको छ । विभिन्न कम्पनिलाई पत्र पठाएर डायलग पनि गरिरहेका छौं ।’

माघयता दैनिक संक्रमितको संख्या ५ सयभन्दा कम
यस्तै माघयता दैनिक रूपमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेको छैन । देशभर आइतबार २७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ जना रहेको छ ।

आइतबार देशभर ४ हजार ४१३ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २० लाख ४३ हजार २५५ पुगेको छ । आइतबार थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १ पुगेको छ । आइतबार थप ४०३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यस्तै, देशभर १३९ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत छन् ।-प्रशान्त वलीले लेखेको यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!