- पत्रपत्रिका खबर

विराटनगर । केहीदिन यता विर्तामोड नगरपालिका–४ कृष्णनगर कालिका टोलका डिल्लीमान श्रेष्ठ आफ्नो मोबाइलमा आउने फोनका कारण हैरान छन् । उनले पाएको हैरानी सोही क्षेत्रका सांसद श्रीप्रसाद मैनालीको नम्बरका कारण हो ।

Advertisement

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर स्वतन्त्र बस्नेसम्मको घोषणा गरेका प्रदेश सांसद मैनालीको मोबाइल नम्बर संसद सचिवालयको वेवसाइटमा गलत हुँदा धेरैले गर्ने फोन श्रेष्ठको गोजीमा बज्ने गरेको छ । प्रदेश १ को राजनीतिक जोडघटाउमा चर्चामा आएका सांसद मैनालीलाई सोमबार धेरैले फोन गरे । प्रचण्ड–नेपाल समूह छाडेर ओली समूहका मुख्यमन्त्रीको लाइनमा पुगेका मैनालीलाई ‘माननीय ज्यू’ भन्दै माधव नेपालसमेतले फोन गरे । तर सो नम्बर मैनालीको थिएन ।

नेपाल प्रहरीका सेवानिवृत्त हवल्दार श्रेष्ठले सांसदको नम्बर भन्दै आफूलाई गर्ने गरेको भन्दै माधव नेपालको पनि फोन आएको बताए । आफू सांसद नभएको जानकारी दिएपछि नेपालले फोन काटेको जानकारी दिए । ‘छ महिनायता धेरैको फोन आइरहेको छ, आज त माधवकुमार नेपालको पनि आएको थियो’ भूपू हवल्दार श्रेष्ठले भने, ‘अब त हैरान नै भइयो, राति पनि माननीय ज्यू भन्दै फोन गरेर सुत्न दिंदैनन् ।’

प्रदेश १ को संसद सचिवालयको वेवसाइटमा सांसद मैनालीको मोबाइल नम्बर ९८५२६७२७३९ भनि राखिएको छ । तर उक्त नम्बर मैनालीको नभई भूपू हवल्दारको भएको खुलेको छ । उनले दिनहुँ सांसद खोज्ने व्यक्तिहरुलाई जवाफ दिइरहनु परेको भन्दै गुनासो गरेका छन् । कहाँबाट आफ्नो नम्बर सवैले थाहा पाए भनेर उनी हैरान पनि छन् । – यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!