- पत्रपत्रिका खबर

इलाम । भोकमरीको अन्त्य र खाद्य सुरक्षाको विषयलाई नेपाल सरकारले महत्व दिइरहेको छ तर इलामको सूर्योदय नगरपालिका भने यसमा फितलो देखिएको छ । कोभिड–१९को महामारीका कारण देशभरि भएको लकडाउनको समयमा दाताबाट संकलन गरेका सामाना पर्याप्त वितरण नगरी कुहिने गरी भण्डारण गर्दै नष्ट गरेको छ ।

Advertisement

नगरले ३५० किलो चामल, २५० किलो दाल र २० प्याकेट नुन नस्ट गरेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले सजिलै दाताबाट संकलन गरी वितरण गरेर बाँकी रहेको सामग्री खान अयोग्य भएपछि नस्ट गरेको स्विकारे । उनले भने ‘भण्डारण गर्ने चिसो ठाउँ भएकाले सामान बिग्रिएपछि आवश्यक प्रक्रिया पु-याएर नस्ट गरिएको हो ।’ नगरपालिकाले १३ पुसमा १६६ बोरा मुन्सली चामलको लिलाम बिक्रीको सूचना निकालेको थियो । जम्मा ८ हजार ३०० केजी चामलमध्ये ३५० किलो चामल नस्ट गरेको हो । वितरणमा जाँगर नचलाइएका कारण कोही भोकै पर्ने र नगरमा रहेको खाद्यान्न कुहिने अवस्था आएको स्थानीय गुनासो गर्दछन् ।

लकडाउनमा नगरले एक चरण चामल वितरण गरेको थियो । त्यसपछि भएका सामान वितरण नगरी नष्ट गर्ने अवस्थामा पु-याएको गुनासो गरिएको छ । नगरले पहिलो चरणमा २१ हजार ६०५ किलो चामल वितरण गरेपछि रहेको चामल थन्क्याएको थियो । पहिलो चरणमा १ हजार ४६० किलो नुन, २ हजार थान साबुन, १ हजार ४६० लिटर खाने तेल वितरण गरेको थियो । वितरणपछि बाँकी रहेको ३५० किलो चामल, २५० किलो दाल र २० प्याकेट नुन अव्यवस्थित भण्डारणका कारण कुहिएको थियो । नगरले कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्थापना गरेको कोरोना कोषमार्फत नगरले असार मसान्तसम्ममा क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामग्री खरिद, राहत वितरण, क्वारेन्टाइनमा बस्नेलाई खाना खर्च, यातायातमा ७५ लाख ६६ हजार ७०८ रुपैयाँ खर्च भएको जनाएको छ ।

नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा संघीय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधि, कर्मचारी र विभिन्न संघ/संस्था तथा व्यक्तिबाट गरी ८७ लाख ९ हजार २७ रुपियाँ जम्मा भएको थियो । असार मसान्तसम्ममा १० लाख ५ हजार ९८ रुपियाँ कोषमा बचत रहेको नगरपालिकाले जनाएको छ । – भगीरथ भण्डारीले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!