संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरका आठ जना पत्रकार सम्मानित भएका छन् । विराटनगर–१५ स्थित रानी मकर्जमा लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वनले आयोजना गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रममा पत्रकारहरुलाई कोरोना योद्धा सम्मान पत्र–२०२१ द्वारा सम्मानित गरिएको हो ।

Advertisement

सम्मानित हुनेमा मकालु टेलिभिजनका बरिष्ठ संवाददाता नविन कर्ण, न्यु सृष्टि दैनिकका प्रधान सम्पादक शंकर खरेल, उद्घोष दैनिकका जितेन्द्र ठाकुर, आवर विराटनगरका प्रेम देवान, नेपाल टाईम्सकी रश्मिता उदास, हिमशिखर टेलिभिजनका राकेश कर्ण, एभिन्युज टेलिभिजनका विरेन्द्र कुमार शाह र लाईभ नेपालका सोनु कुमार दास छन् ।

कोरोना महामारीकाबीच जनतालाई सु–सुचित गराउने कार्यमा सक्रियतापूर्वक भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै कार्यक्रममा न्युरो अस्पतालका अध्यक्ष विरेन्द्र कुमार बिष्टलाई पनि सम्मान गरिएको छ । कोरोना महामारीका बेला न्युरो अस्पतालले प्रदेश नं. १ मै पहिलो पटक निजी क्षेत्रबाट कोभिड अस्पताल सञ्चालन गरी संक्रमितहरुको उपचार गरेर योगदान पुर्याएको भन्दै बिष्टलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा क्लबले विराटनगरका विभिन्न सामुदायिक विद्यालयमा आबद्ध गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । लियो डिस्ट्रिक काउन्सिल ३२५ ए वनका सोसाईटी जोन चेयर पर्शन मोजाहिद ईराकीको नेतृत्वमा क्लबले करिब ४ सय विद्यार्थीहरुलाई निःशुल्क शैक्षिक सामाग्री वितरण गरेको हो ।

विद्यार्थीहरुलाई स्कुल ब्याग, पेन्सिल, कटर, ईरेजर र कलम लगायत शैक्षिक सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक मोहम्मद आरिफ रिजवान खानले जानकारी दिए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने क्लवले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!