- पत्रपत्रिका खबर

वीरगन्ज । पर्सामा तल्लो जातको केटासँग लागेको भन्दै आफ्नै बुवा–आमाले छोरीलाई जलाएर हत्या गरेको रहस्य खुलेको छ । पर्साको बहुदरामाई नगरपालिका–८ रामनगरी गाँउमा गत कार्तिक २९ गते लक्ष्मीपूजाका दिन भएको आगलागीमा परी १५ वर्षीया बालिकाको मृत्यु भएको भनिएको घटनामा आमाबुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको रहस्य खुलेको हो ।

Advertisement

कात्र्तिक २९ गते लक्ष्मीपूजाका दिन रामनगरीमा राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको थियो । आगलागी भएका दिन प्रहरीलाई घरमा आगलागी भयो भनेर मात्रै जानकारी दिइएको थियो । दमकलको सहयोगमा आगो निभाएपछि घरभित्र भने माना कुमारीको शव जलेको अवस्थामा भेटिएको थियो । त्यसबेला बुवाआमाले माना निदाएकै अवस्थामा घरमा आगो लागेर जलेर मरेको भन्ने दाबी गरेका थिए । तर घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले घरमा लागेको आगो र शवको प्रकृति हेरेपछि शंका लागेर अनुसन्धान सुरु गरेका थिए ।

अनुसन्धानका क्रममा मानाको जलाएर हत्या गरिएको वास्तविकता पत्ता लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए ।अनुसन्धानका क्रममा छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल रहेको र छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको पत्ता लागेपछि प्रहरीलाई आशंका लागेर अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुलेको प्रहरी निरीक्षक थापाले बताए ।

मृतक बालिकाकी भाउजु मनिषा देवीले पनि नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् । हत्याकी आरोपित मध्येका लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको आमा लालमतिले स्वीकारेको प्रहरीले जनाएको छ ।

लालमतीका श्रीमान मनाबोध अहिले फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । – क्रान्ति शाहले लेखेको यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!