- पत्रपत्रिका खबर

काठमाडौं । करिब नौं महिनापछि खुला गरेको सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा फाराम भर्न नै सकस भएको छ । यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फारम खुला गरे पनि प्राविधिकलगायत समस्याका कारण फर्म भर्न सकस उत्पन्न भएको हो ।

Advertisement

विभागले गत १४ पुसदेखि अनलाइनमार्फत फारम खुला गरेको थियो । तर, अधिकांश सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पाएका छैनन् । झापा निवासी सुशील गौतमले १४ पुस अर्थात् फारम खुलेकै दिनदेखि अनलाइन फर्म भर्न प्रयास गरे पनि अहिलेसम्म भर्न सकेका छैनन् । गोरखा निवासी सुदन पौडेलले आफूले चार घण्टा निरन्तर प्रयास गर्दा पनि फर्म भर्न नमिलेको भन्दै अनलाइन फर्म भर्ने गतिलो व्यवस्था नगरेको जनाउँछन् । अर्का एक सेवाग्राही बिहान ५ः५५ देखि सुरु गरेर २० मिनेट निरन्तर अथक प्रयास गर्दा फर्मको कोटा नै सकिएको भनेर सन्देश आएको जनाउँछन् । उनले दलालसमक्ष नै पुग्न बाध्य हुनेगरी विभागले काम गरिरहेको आरोपसमेत लगाए ।

अर्का सेवाग्राही राजु थापा पुरै फर्म भरेपछि कोटा फुल भएको सन्देश दिने प्रणालीप्रति आक्रोश पोख्छन् । ‘कोटा फुल भयो भने सुरुमा भन्नुपर्दैन ? फर्म भरेर सब्मिट गर्ने बेला भन्ने हो ? सिस्टम बनाउँदा सामान्य दिमाग त लगाउनु नि,’ उनी आक्रोश पोख्छन् । माथि उल्लिखित पात्रहरू जस्तै लाइसेन्सका लागि अनलाइन फर्म भर्न खोज्ने अधिकांशले अहिले समस्या भोगिरहनुपरेको छ । धेरै जनाले फर्म भरेर सब्मिट गर्दा कोटा सकिएको भन्दै भर्न पाएका छैनन् भने अधिकांश समय त विभागको अनलाइन फर्म भर्ने साइट नै डाउन हुने गरेको छ । विभागले सोमबार भने सर्भर मर्मतका लागि भन्दै अनलाइन आवेदन रोक्नुपरेको थियो । सोमबार सर्भर मर्मत गरिएपछि डाउन नभए तापनि कोटा सिस्टमका कारण सेवाग्राहीले भने फर्म भर्न पाएका छैनन् ।

विभागको वेबसाइटमा राखिएको लिंक अथवा अनलाइन इडीएलआरइजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत फारम बिहान ६ बजदेखि राति १० बजेसम्म भर्न सकिने विभागले जनाएको छ । विभागले कोटा भएको अवस्थामा मात्र फर्म भर्न सकिने पनि जनाएको छ । तर, सेवाग्राहीले सहज रूपमा अनलाइन फर्म भर्न पाएका छैनन् । गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । – टेनिस रोकाले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!