धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले गरिब, बिपन्न तथा असहायलाई ओढ्ने (व्ल्याङकेट) वितरण गर्न थालेको छ । जेष्ठ नागरिक, अति विपन्न तथा पूर्णअपाङ्गता भएकाहरुलाई चिसोवाट बचाउँन गाउँपालिकाका जनप्रतिनिधिले घर–घरमै पुगेर ओढ्ने वितरण गरिरहेका छन् ।
गाँउपालिका भित्रका ८२ वर्ष माथिका जेष्ठ नागरिक, ७० वर्ष उमेर पुगेका दलित जेष्ठ नागरिक, अतिविपन्न घरपरिवार र पूर्णरुपमा पूर्णअपाङ्गता भएका ४ सय ११ जनालाई ओढ्ने वितरण गरिन्ने गाँउपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । सहिदभूमि गाउँपालिकाले गत बर्षहरुमा पनि चिसो महिनामा न्यानो कपडा वितरण गर्दै आएको थियो ।
वडाबाट सिफारिस भएर आएकाहरुका घर–घरमा पुगेर गाँउपालिका अध्यक्ष राई, उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, सातवटै वडाका वडाध्यक्ष लगायतले ओढ्ने वितरण गरिरहेका छन् । गाउँपालिकाको ४ लाख ८० हजार बजेटबाट ओढ्ने वितरण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाक्यले बताए ।
सहिदभूमि वडा नं १ मा ८० जना, २ मा ७३, ३ मा ४५, ४ मा ६६, ५ मा ५४, ६ मा ५७ र ७ मा ३६ जनालाई ओढ्ने वितरण गरिदैछ । पुस मसान्तभित्रमा वितरण गरिसक्ने गाउँपालिकाको योजना छ । ओढ्ने वितरणसँगै घर–घरमै स्वास्थ्यकर्मी लगेर उनीहरुको स्वास्थ्य परीक्षणको व्यवस्था पनि मिलाइएको छ । स्वास्थ्य परिक्षणसँगै दिर्घ रोगी र असक्तहरुलाई औषधिसमेत निःशुल्क वितरण भइरहेको गाउँपालिकाले जनाएको छ ।