इलाम । रेडपाण्डा पाइने इलाम र भारतको सीमा क्षेत्र सिंहलीला नेशनल पार्क तथा सन्दकपुर गाउँपालिकाको चोयाटार सामुदायिक वन उपभोक्ता समूहले रेडपाण्डाको प्रजनन समय भएको भन्दै सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवागमनमा प्रतिबन्ध लगाएको छ ।

पर्यटकको होहल्लाले रेडपाण्डाको प्रजनन र यौन प्रक्रियामा असर पुग्ने भन्दै आवतजावतमा प्रतिबन्ध लगाएको हो ।

Advertisement

रेडपाण्डा पाइने स्थानमा जुन १५ देखि सेप्टेम्बर १५ तारिख तीन महिनासम्मका लागि पर्यटक र स्थानीयवासीलाई वन क्षेत्रमा आवतजावत गर्न प्रतिबन्ध लगाएको हो ।

इलामको तुम्लिङदेखि पाँचथरको फालोटसम्मको नेशनल पार्क क्षेत्र र चोयाटार सामुदायिक वनभित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको माईजोगमाई–२ स्थित तुम्लिङका होटल व्यवसायी तिलक गुरुङले बताउनुभयो ।

कञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङमा भारतलगायत तेस्रो मुलुकका सयौँ पर्यटक आवतजावत गर्दै आएका छन ।

दुर्लभ रेडपाण्डालगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको यो समय प्रजनन र यौन क्रियाकलापको समय भएकाले मानवीय क्रियाकलापमा प्रतिबन्ध लगाएको नेशनल पार्कले जनाएको छ ।

पार्कले सूचना टाँस गरी तुम्लिङ–फालोट क्षेत्रको ४२ किलोमिटरमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत नगर्न अनुरोध गरेको छ ।

त्यस्तैगरी सन्दकपुर गाउँपालिकाको चोयाटार सामुदायिक वनमा पनि रेडपाण्डा पाइने भएकाले उक्त वन क्षेत्रमा पनि तीन महिनाका लागि आवतजावत बन्द गरिएको वन उपभोक्ता समूहका अध्यक्ष मानबहादुर तिवारीले बताउनुभयो ।

पर्यटकको हल्लाले वन्यजन्तुको प्रजनन र यौन क्रियाकलापमा बाधा पुग्ने भएकाले तीन महिनासम्म आवतजावत बन्द गर्ने गरेको सीमा क्षेत्रका पर्यटन व्यवसायी बताउँछन् ।

“सधैँ पर्यटकको जमघट हुने सन्दकपुर सुनसान छ”, होटल व्यवसायी गुरूङले भन्नुभयो – “तीन महिनासम्म नेपाली पर्यटकीय क्षेत्र सुनसान हुनेछ ।”

नेशनल पार्कले करिब १५ वर्षदेखि रेडपाण्डाको प्रजनन समयमा पर्यटक आवागमन बन्द गर्दै आएको उहाँले बताउनुभयो । नेशनल पार्कले प्रत्येक वर्षको तीन महिनासम्म पर्यटक आवागमनमा रोक लगाउँदा समस्या पर्दै आएको होटल व्यवसायीको गुनासो छ ।

पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघमा, तुम्लिङ, जौवारी, गैरिवास, कैँयाकट्टा, कालपोखरी, बिखेभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा भारत भएर सयौँ पर्यटक आउने गरेका छन् ।

कञ्चनजङ्घा, सगरमाथालगायतका हिमशृङ्खला, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडीबुटी, हिमाली जीवनशैलीलगायतको अवलोकन गर्न सकिने हुनाले सीमावर्ती नेपालीका साथै विदेशी पर्यटक आउने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!