संगालोखबर सम्बाददाता

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना बिमाको आकर्षण अझै बढ्दो क्रममा रहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या गुणात्मक रूपमा बढेसँगै बिमा गर्नेहरूको संख्या पनि बढ्दै गएको छ ।

Advertisement

जसका कारण सुरुमा निकै आकर्षक रूपमा कोरोना बिमा गराउनेतर्फ आकर्षक प्याकेज बनाएका विभिन्न बिमा कम्पनीले अहिले कोरोना भाइरस संक्रमितको संख्या अत्यधिक रूपमा बढेको भन्दै प्रारम्भिक चरणमा भएका सुविधा कटौती गरी बिमकलाई अनेकौं झमेला थपेर निरुत्साहित बनाउने गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले गत ११ चैतदेखि करिब ४ महिनासम्म गरेको लकडाउनको अवधिभित्र बिमा कम्पनीले सर्वसाधारणलाई कोरोना बिमाप्रति आकर्षण बढाउन निकै प्रयास गर्नुपरेको थियो ।

सर्वसाधारणबीच प्रतिव्यक्ति ६ सय रुपैयाँ बुझाएर १ लाख रुपैयाँको सामूहिक बिमा गरे बिरामी भएको अवस्थामा निकै राहत हुने अपेक्षा थियो । तर, अहिले बिमा कम्पनीहरूले कोरोना संक्रमितलाई दाबी भुक्तानी दिन अनेकौं झमेला थपेर लामो समय झुलाइरहेको छ । केही बिमा कम्पनीले कोरोना संक्रमण पुष्टि भएको पीसीआर रिपोर्टको सक्कलप्रति नै बुझाउनुपर्ने भनिरहेका छन् भने कुनैले अनलाइनको रिपोर्टलाई नै मानेर भुक्तानी दिइरहेका छन् । यसरी कोरोना बिमकलाई बिमा कम्पनीपिच्छे फरक फरक नियम बनाएर झुलाउने गरेका कारण संक्रमित बिरामीले बिमा भुक्तानी लिन निकै सास्ती भोग्नुपरेको दाबीकर्ताले भनाइ छ ।

हाल सामान्य व्यक्तिले पनि सानो रकम जम्मा गरेर भोलि आफू कोरोनाबाट बिरामी भइयो भने केही आर्थिक भार कम हुने भन्दै बिमा कम्पनी धाउन थालेको देखिन्छ । अहिलेसम्म मुलुकमा विभिन्न बिमा कम्पनीले न्यूनतम ५० हजार रुपैयाँ र अधिकतम १ लाख रुपैयाँको कोरोना बिमा गराएका छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सबै बिमा कम्पनी मिलेर सामूहिक रूपमा जोखिम वहन गर्न सुरु गरिएको अवस्था छ । सबै बिमा कम्पनी मिलेर सामूहिक रूपमा जोखिम वहन गर्न सुरु गरिएका बिमामा हालसम्म २० वटा निर्जीवन बिमा कम्पनीले कुल ८७ करोड २० हजार ९०५ रुपैयाँ प्रिमियम रकम संकलन गरेका छन् ।

बिमा कम्पनीमध्ये अहिलेसम्म सबैभन्दा धेरै राष्ट्रिय बिमा समितिले प्रिमियम रकम संकलन गरेको छ । सरकारी स्वामित्वमा सञ्चालित बिमा समितिले यस अवधिमा कुल २२ करोड २४ लाख ३ हजार ३३ रुपैयाँ प्रिमियम संकलन गरेको छ । यसैगरी, निजी निर्जीवन बिमा कम्पनी शिखर इन्स्योरेन्सले ११ करोड २६ लाख ४७ हजार ६ सय प्रिमियम संकलन गरेको छ । सगरमाथा इन्स्योरेन्सले ७ करोड ६० लाख ५५ हजार ७ सय ३५ रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

अजोड इन्स्योरेन्सले ४ करोड ७० लाख ४६ हजार ७ सय रुपैयाँ प्रिमियम संकलन गरेको छ । अर्को निर्जीवन बिमा कम्पनी एभरेस्ट इन्स्योरेन्सले २ करोड ४३ लाख २२ हजार १८० रुपैयाँ, जनरल इन्स्योरेन्सले २ करोड ४० लाख ८६ हजार ५ सय रुपैयाँ, हिमालयन इन्स्योरेन्सले ३ करोड ७६ लाख ९८ हजार ६०९ रुपैयाँ र आईएमई जनरल इन्स्योरेन्सले ३ करोड ६४ लाख ३२ हजार ४ सय ४० रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

लुम्बिनी इन्स्योरेन्सले २ करोड ६५ लाख ६ हजार ८ सय रुपैयाँ प्रिमियम संकलन गरेको छ भने नेसनल इन्स्योरेन्सले ९२ लाख ४५ हजार ८ सय प्रिमियम संकलन गरेको पाइएको छ । नेको इन्स्योरेन्सले ४ करोड २४ लाख ९० हजार ४३८ रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड ९९ लाख ४२ हजार २० रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ करोड ९२ लाख ९१ हजार ६ सय रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले १ करोड ७ लाख ७७ हजार ८१० रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ करोड ७९ लाख ४४ हजार ६ सय रुपैयाँ र प्रिमियर इन्स्योरेन्सले ३ करोड ३३ लाख १० हजार ५ सय प्रिमियम संकलन गरेको छ ।

यसैगरी, प्रडुन्सियल इन्स्योरेन्सले १ करोड ९ लाख ७१ हजार ४० रुपैयाँ, सानिमा इन्स्योरेन्सले १ करोड १ लाख ३२ हजार ४ सय रुपैयाँ प्रिमियम संकलन गरेको छ । सिद्धार्थ इन्स्योरेन्सले ६ करोड २ लाख ६२ हजार रुपैयाँ र युनाइटेड इन्स्योरेन्सले १ करोड ८४ लाख ५३ हजार १ सय रुपैयाँ प्रिमियम संकलन गरेको बिमा समितिको तथ्यांकमा उल्लेख छ ।

बिमा समितिले पनि पछिल्लोपटक बिमासम्बन्धी निर्देशिका कार्यविधि नै संशोधन गरी सुरुका बेलाको भन्दा बिमकले पाउने सुविधा घटाएर कोरोना संक्रमितलाई जम्मा २५ हजार रुपैयाँ र अन्य रकम अस्पतालमा उपचारको क्रममा बुझाएको बिलअनुसारको रकम मात्र दिने व्यवस्था गरिदिएको छ । – मधुजंग पाण्डेले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!