संगालोखबर सम्बाददाता

बिराटनगर । मोरङका उद्योगी, व्यवसायीहरुले लामो समयको लकडाउन र निषेधाज्ञाका कारण औद्योगिक क्षेत्र अस्तव्यस्त भएको भन्दै अब सधैका लागि बन्दाबन्दी अन्त्य गर्न सुझाव दिएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र बिराट व्यापार संघले बुधबार संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै अब निषेधाज्ञा नथप्न प्रशासनलाई सुझाव दिएका हुन् ।

Advertisement

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र बिराट व्यापार संघका अध्यक्ष सुजन थापाद्वारा जारी बिज्ञप्तिमा अब उद्योग, व्यावसाय क्षेत्रले थप बन्दाबन्दी थेग्न नसक्ने अवस्था सृजना भएको उल्लेख छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेदेखि जारी गरेको लकडाउन ०७७ साउन ७ गते अन्त्य भयो । तर, कोरोना संक्रमण झन–झन बढेको भन्दै अहिले स्थानीय सरकार तथा प्रशासनले आ–आफ्नो क्षेत्रमा लकडाउन तथा निषेधाज्ञा गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पनि पटक–पटक म्याद थप्दै भदौ २२ गतेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको छ ।

तर, अब निषेधाज्ञा थप धान्न सक्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै उद्योगी, व्यवसायीहरुले मोरङ जिल्लामा भदौ २२ भन्दापछि लकडाउन नथप्न र बन्दाबन्दीलाई सधैका लागि अन्त्य गर्न प्रशासनलाई सुझाव दिएका हुन् । थप भएमा निषेधाज्ञा उल्लंघन गर्ने बाध्यकारी अवस्था आउनेतर्फ पनि उद्योगीहरुले प्रशासनलाई सचेत गराएका छन् ।

‘निरन्तरको निषेधाज्ञा र लकडाउनले व्यापार व्यवसाय बन्द हुँदा उद्योगी, व्यवसायीहरु बैंकको ऋण, व्याज, किस्ता, बीमा प्रिमियम, घर बहाल, खानेपानी, टेलिफोन आदीको बिल भुक्तानी गर्न नसक्ने, उद्योगका कच्चा पदार्थ तथा तयारी वस्तुहरु ओसार पसार तथा बिक्रि हुन नसकेको, कर्मचारी, मजदुर, प्राविधिक आदिको व्यवस्थापनमा समस्या भएको, पसलमा तथा स्टकमा रहेको मालबस्तुको म्याद गुज्रिएर खेर गएर उद्योगी व्यवसायीले तिनुपर्ने खर्चहरुको मिटर बढिरहने एवम् सबैतिर बन्दाबन्दी हुँदा सामान बिक्रि वितरण गर्न नसकिएकाले लकडाउन तथा निषेधाज्ञा अब सान्दर्भिक नभएको हाम्रो ठहर छ ।’ बिज्ञप्तिमा भनिएको छ–‘बन्दाबन्दीका बेलामासमेत सरकारलाई तिर्नुपर्ने कर, बिद्युत, खानेपानी तथा टेलिफोन महसुल आदीमा कुनै प्रकारको छुट सहुलियत नदिने तर, उद्योगी व्यवसायीले बन्दाबन्दी हुँदासमेत सबै खर्चहरुको दायित्व बहन गर्नुपर्ने हुँदा गरिखाने उद्योगी व्यवसायीहरुलाई निकै सकस परेकाले उद्योगी व्यावसायीले बिकल्प बिनाको लकडाउन तथा निषेधाज्ञा अब धान्न नसक्ने प्रस्ट पार्न चाहन्छौ ।’

विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य प्रोटोकल अनिवार्य पालना गर्ने तथा कडाईका साथ पालना गराउँने र बन्दाबन्दी खोलेर जनजीवन सामान्य बनाउँनुपर्ने उनीहरुको सुझाव छ । कोरोनाको ठोस उपचार नभएको तथा विश्व स्वास्थ्य संगठनले यो महामारी अझै लामो समय कायम रहने प्रक्षेपण गरेकाले लकडाउन र निषेधाज्ञा महामारी रोक्ने विकल्प नभएको उद्योगी, व्यवसायीको निष्कर्ष छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!