- लक्ष्मी पोखरेल

नरेश उस उमेरमा अहमताले टम्म भरीएका मानिस हुन् । अहंकार र घमण्ड दाँया बाँया साथै लिएर हिँड्दथे । ओल्टेकोल्टे हेर्दैनथिए,आफ्नै तालमा गजक्क पर्दथे । निकै राम्रो र रवाफिलो पोस्टमा उनको जागिर थियो । कडा थिए । कर्मचारी डरले थुर्थुर हुन्थे । समय काल र शासन व्यवस्था पनि उस्तै थियो । त्यसले पनि सघाएकै हुनुपर्छ । छर-छिमेकी पनि सम्मान र अदबले बोल्थे । त्यही भएर होला उनी आफू आँफैँलाई निकै ठूलो ठान्थे ।

Advertisement

घरी घरी उनलाई लाग्थ्यो ममा दैवी शक्ति छ र त मेरा सबै काम सफल हुन्छन् र प्रत्एकको उच्च मूल्याङ्कन हुन्छ ।
अब त समय निकै घर्किएको छ । खोलाहरूले थुप्रै पहाडहरू तलतलैबाट कुटुकुटु काटेर बगाईसके । नरेश अवकाशको जीवनमा छन् । घरमा श्रीमती र उनी मात्रै छन् । छोराछोरी आ-आफ्नो बाटो लागिसके । बेला-बेलामा तैपनि एक्ली श्रीमती उपर आफ्नो पारा गरीहाल्छन् । दुई तीन दिन अघि श्रीमतीसँग निकै गर्जिए । श्रीमती मन दुखाएर छोरी कहाँ गएर बसिन् । त्यस दिनदेखी नरेश एक्लै छन् । भात भान्सा, भाँडा मस्क्यौटो आफैँ भ्याउन परेको छ ।

हप्ता दिनसम्म जेनतेन धाने । दिक्क लागेछ क्यारे ! पूराना संपर्कहरूका टेलिफोन डाईरेक्टरी निकालेर फोन गर्न लागे । कतिले कुरा गरे कतिले फोन उठाएनन् । कोही संसारबाट विदा भईसकेका रहेछन् । कुरोको चुरो चाहीँ उनले आफ्नो एक्लोपन बिताउन घर डाक्दा कोही नआउने भए । फेरी अर्को दिन बिताए । भोलिपल्ट खप्न नसकेर लौरो लिएर चोक बजार डुल्न निस्किए । अनेकन् र रङ्ग रङाका मानिसहरू माझ एउटा आकृति चिनेचिने जस्तै लाग्यो । अलि नियालेर हेरे । हो ! बिष्णु बहादुर त हो नी ! पक्का उही हो उनको कार्यालयको उस बखतको पिउन । डाके, ” ए बिष्णु यता आइज ।”

बिष्णु बहादुरले अघि देखि सकेर उम्किन खोज्दैथियो, डाकेको सुनेर अन्तै फर्कियो । नरेश पनि केलाई हार मान्थे नजिकै पुगेर पाखुरामै समातेर भने, ” बजिया ! हाकिमले बोलाको पनि सुन्दैनस् बिस्ने ? ” बिष्णु बहादुरले नरेशलाई खाउँलाझैँ गरेर हेर्याे र भन्यो, ” के को हाकिम ? अझै तिम्रो तुजुक गा’को छैन ? बूढो मुढो कुहियो होला भनेको उस्तै र’छ ” नरेशले बिष्णुको पाखुरा फुत्तै छोडे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!