लक्ष्मी पोखरेल

बुहारी नानुमैयाँले पकाएको सासु, ससुराले नखाने भए । नखाइदिए ता तैबरी, जेठाजु, देवर उचाली समाज बसाउने भए । नानुमैयाँलाई अर्जुनको जिम्मा लाउने भए । आफूलाई जत्ति नै दह्रीली भनिठाने पनि नानुमैयाँका बाँध फुटे । यस्तै बाँध यस अघि दुईखेप फुटेका हुन् । एकपटक माइतीघर छाडेर श्रीमान श्यामको घर भित्रिदा र अर्कोपटक श्यामको अकाल मृत्यु हुँदा । त्यसपछिका दुर्वचन उसले पचाउँदै ल्याएकी हो ।

Advertisement

छोरीचेलीको जात । आफू घरमा दाजुभाईसँग मुड्कामुड्की पर्दा, चेलीको जात अर्काको नासो- घाउखत नलगाओ है ! भन्थिन् उनकी आमाले ।
दिनहुँ रक्सी धोकेर मध्यरात टोल थर्काउँदै श्रीमती भकुर्ने बहादुरकी स्वास्नी भइञ्जेल उनकी आमाले त्यो घर कत्तिको आफ्नो पाइन्, नानुमैयाँले कहिल्यै बुझिनन् । नानुमैयाँ गाउँघरबाट शहरमा बुहारी बनेर आएपछिका गाह्रा-साह्रामा उनले आफूलाई अभ्यस्त पारिहालिन् । छोरो राहुल पनि छिट्टै गर्भमा आइहाल्यो । तर हुनुहार दैव नटार, सवारी दुर्घटनाले माया गर्ने लोग्नेलाई लग्यो ।

विधवा भएपछिको फेरिएको बुहार्तन जसोतसो चल्दै थियो । श्यामको बालसखा अर्जुनलाई घरकाले बाक्लाई डाक्न थाले । उनी बाबु भन्थिन्, अर्जुन भाउजु भन्थे । केही समय बित्यो । खासखुस कुरा सुनिन थाले । ससुराली खलकका व्यवहार टर्रो र रुखो हुनथाल्यो । अन्तत उनलाई बात लगाई छाडे । जेठाजुले भने, राती यस्को कोठाबाट निस्केको मैले देखेको हो
सासुले भनिन्, आउने बित्तिकै कोठामा बसाउँछे ।

समाजका मान्छे मुखामुख गरे । सासु भुत्ल्याउन तम्सिन् । राहुल अघिसम्म चुप्प लागेर हेरिबसेको थियो । उसैले शय नम्बरमा कल गर्यो । प्रहरी आए । आमाको हात समाउँदै अगाडि बढेर राहुल प्रहरीलाई भन्न थाल्यो, अर्जुन अङ्कललाई घरमा डाक्ने म हुँ । अङ्कल टिचर भएकाले मलाई अफ्ठ्यारो लाग्ने बिषय म ममीकै कोठामा बसेर सिक्छु । घर आएकालाई चिया पानी दिनु पाप हो र हामी आकाश डुल्ने चरालाई त आँगनमा चरो हाल्छौं ।

नानुमैयाँले थाहा पाइन् छोरा ठुलो भएछ । नानुमैयाँको बाँध चौथोपटक फुट्यो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!