- रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रको सयौं रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा अमेरिकन फौजीकीराको संक्रमण देखिएको छ । महालक्ष्मी नगरका बिभिन्न वडाका किसानहरुले लगाएको ५ सय रोपनी भन्दा बढी क्षेत्रफलको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको हो ।

महालक्ष्मी वडा नं.४ को सिकरकटेरी, वडा नं.५ को बगर, मेलाङ्चुङ, वडा नं.६ को काफ्ले, आरबोटे लगायत क्षेत्रमा संक्रमण बढी फैलिएको छ । यता, महालक्ष्मी–३ का कृषकले लगाएको मकैबालीमा सेमिलोपर प्रजातिको किराको प्रकोप देखिएको छ । यी दुबै प्रजातिका किराले महालक्ष्मी नगर क्षेत्रको सयौं रोपनी मकैंबाली नष्ट गरेका छन् ।

संक्रमण तीव्र रुपमा बढ्न थालेपछि महालक्ष्मी नगरपालिकाले नियन्त्रणका लागि निःशुल्क रुपमा किटनाशक विषादी वितरण गरिरहेको मेयर पर्शुराम नेपालले संगालोखबरलाई जानकारी दिए । ‘मकैबालीमा संक्रमण फैलन थालेको थाहा पाउँने बित्तिकै हामीले गाउँ–गाउँमा कृषि प्राबिधिक पठाएर कीरा नियन्त्रणको प्रयास गरिरहेका छौ ।’ मेयर नेपालले भने ‘मकैबाली जोगाउँन नगरपालिकाको तर्फबाट किटनाशक विषादी पनि वितरण गरेका छौ ।’

फौजीकीराले मकैबाली नष्ट गर्न थालेको कृषकहरुबाट गुनासो आएपछि नगरपालिकाको समन्वयमा बाली संरक्षण प्रयोगशाला बिराटनगर र कृषि ज्ञान केन्द्र धनकुटाको कृषि प्राविधिकसहितको टोली गाउँमा गएर मकैबालीको निरीक्षण गरी फौजीकीराको संक्रमण यकिन गरेको थियो । सोहि टोलीको सिफारिसमा किटनाशक विषादी वितरण थालिएको हो । नगरपालिकाका मेयर नेपालसहित कृषि प्राविधिक गाउँ–गाउँमा गएर विषादी वितरण गरी फौजीकीरा नियन्त्रणको प्रयासमा जुटेका छन् । तरपनि फौजीकीराले एक दिनमै ठूलो क्षेत्रफलको बाली नष्ट गर्ने र छिटै फैलने भएकाले सयौं रोपनी क्षेत्रफलमा यसको संक्रमण फैलिएको छ ।

किटनाशक बिषादी छर्किएपछि फौजीकीरा केहि नियन्त्रण भएको महालक्ष्मी–६ का कृषक सुरेन्द्र बस्नेतले बताए । ‘औषधि छर्किएपछि आधा जति मकैबाली चै बाँच्यो । अरु कीराले खाएर नास भयो ।’ उनले भने ‘पोहोर परार त यत्ति साह्रो क्षति पुर्याएको थाहा थिएन । यस पटक संकटका बेला अझै संकट थपिने भयो ।’ फौजीकीराको संक्रमणका कारण सयौं रोपनी मकैबालीमा क्षति पुगेपछि सो क्षेत्रका कृषकहरुलाई उत्पादन घट्ने चिन्ताले पिरोल्न थालेको छ ।

संक्रमण सुरु हुँने बित्तिकै फौजीकीराले ५० प्रतिशत बाली नष्ट गर्ने गरेको महालक्ष्मी नगरपालिकाका कृषि प्राबिधिक शेखर चापागाईँ बताउँछन् । उनी भन्छन्–‘फौजीकीरको क्षति पुर्याउँने र फैलिने दर धेरै हुन्छ । बेलैमा किटनाशक बिषादी छर्कदा ५० प्रतिशत जति बाली बचाउँन सकिन्छ, नभए सबै बाली सखाप पार्छ ।’ फौजीकीराले मकैको पात, धानचमरा लगायत बोटका अधिकांस भाग खाएर केहि दिनमै बाली नष्ट गर्ने गर्छ । छिटै बाली नष्ट गर्ने र चाडो फैलने भएकाले फौजीकीरा नियन्त्रणमा समस्या हुँने गरेको कृषि प्राबिधिकहरुको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!