बिराटनगर । प्रदेश नं.१ मा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलन थालेको छ । एक साताको अवधिमै प्रदेश १ का उदयपुर, मोरङ, भोजपुर र झापामा २९ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । अहिले दैनिकजसो संक्रमित भेटिदा नियन्त्रणमा चुनौति बढ्न थालेको छ ।
प्रदेश १ मा १७ नेपाली र १२ भारतीय नागरिकमा संक्रमण देखिएको हो । भारतीय बाहेक उदयपुरका ११ जना, मोरङका चार जना, भोजपुर र झापाका एक/एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहतको कोरोना सूचना डेक्सले जनाएको छ । प्रदेश १ मा पहिलो पटक बैशाख ५ गते शुक्रवार उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के स्थित मस्जिदमा रहेका १२ जना भारतीयमा कोरोनाको संक्रमण देखियो ।
उदयपुरको मस्जिदबाट मोरङको टाढीको क्वारेनटाइनमा पुर्याइएका चार जनामध्ये एक नेपालीमा भोलिपल्टै (शनिवार) संक्रमण भेटियो । संक्रमण पुष्टि भएकासँगै उदयपुरबाट ल्याएर टाढीको क्वारेनटाइमा राखिएका वाँकी तीन जना र उदयपुरको मस्जिद आसपास क्षेत्रका ८ जना गरी मंगलबार एकैदिन ११ जना संक्रमित थपिएपछि प्रदेश १ मा संक्रमितको संख्या २४ पुग्यो ।
उदयपुरमा पहिलो पटक संक्रमण देखिदा मुलुकका अन्य स्थानमा वाँकी १८ जनामा कोरोनाको संक्रमण देखिसकेको थियो । तर, संक्रमण देखिएको पाँच दिन भित्रै प्रदेश १ मा संक्रमितको संख्या ह्वात्तै बढेर मुलुकका वाँकी प्रदेशका कुल संक्रमितको संख्यालाई पनि उछिनेको छ । ११ जना संक्रमित थपिएको भोलिपल्ट (बुधबार) पुनः उदयपुरका तीन जना पुरुषमा संक्रमण देखियो । लगातार संक्रमित थपिने क्रम रोकिएन ।
लगत्तै बिहिबार भोजपुरका २६ बर्षीय युवा र शुक्रबार झापाका ६२ बर्षीय बृद्धमा पनि संक्रमण देखिएपछि प्रदेश १ मा संक्रमितको संख्या २९ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या निरन्तर बढ्दा अहिले मुलुकभर संक्रमितको संख्या ४९ पुगिसकेको छ । जसमध्ये ११ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् ।
अहिले प्रदेश २ को सप्तरीका १ सहित ३० जनाको बिराटनगर स्थित कोरोना बिशेष अस्पतालमा उपचार भइरहेको छ । मुलुकका अन्य स्थानमा ८ जना उपचाररत छन् ।