- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । दुःख गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा धनकुटाका कृषकहरु मारमा परेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण तरकारीको निर्यात ह्वात्तै घटेपछि किसानहरु मारमा परेका हुन् । लकडाउन र कोरोना संक्रमणको डरले व्यापारीहरु सागसब्जी लिन आउँने क्रम घटेपछि जिल्लाको सिधुवा आसपास क्षेत्रका किसानले उत्पादन गरेको साग र मटर कोसा बारीमै सुक्न थालेको छ । बिक्रि नभएपछि गाइबस्तुलाई सागसब्जी खुवाउँनु परेको किसानहरुको गुनासो छ ।

Advertisement

सागसब्जी बिक्रि नै नहुँने र हुँदापनि एकदमै न्यून दरमा व्यापारीले लैजाने गरेको छथर जोरपाटी गाउँपालिका–६ मझुवाका कृषक खड्गबहादुर पौडेलले गुनासो गरे । ‘लकडाउका कारण सब्जी बोक्ने गाडी निर्वाध चल्न नसक्दा व्यापारीहरुले थोरै मात्र सागसब्जी लान्छन् । उनीहरु जोखिम मोल्न चाहदैनन् ।’ उनले भने ‘बारीमै सागसब्जी सुक्न थालेको छ । सुकेर नास हुनुभन्दा खोले पकाएर गाईबस्तुलाई खुवाउँन थालेका छौ ।’ पौडेलले चार रोपनी क्षेत्रफलमा लगाएको साग र सात रोपनीमा लगाएको मटर कोसा बिक्रि नभएर नास हुँने अवस्थामा पुगेको गुनासो सुनाए ।

अर्का कृषक देवेन्द्र थापाको पनि समस्या उस्तै छ । निर्यात हुन नसक्दा करिब तीन लाख बराबरको सब्जी बारीमा सुकेर जाने अवस्थामा पुगेको थापाले गुनासो गरे । २० रुपैयाँमा विक्री हुने साग ४ रुपैयाँ र ३० रुपैयाँ केजीमा विक्री हुने मटर कोसा १२ रुपैयाँमा पनि बिक्रि गर्न मुस्किल परेको थापाले बताए । उनले भने–‘लकडाउन त सबैले पालना गर्नु पर्छ । तर, सागसब्जी जस्तो दैनिक उपभोग्य बस्तुको निर्यातलाई राज्यले पनि सहज बनाउँन सहयोग गर्नुपर्छ ।’

तरकारीको राजधानी नामले चिनिने सिधुवाबाट वार्षिक यो समयमा साग र हरियो मटर कोसा करिब तीन करोड बराबरको निर्यात हुने गरेको थियो । सिधुवा आसपासका करिब ६० परिवारले वार्षिक १ हजार हेक्टर क्षेत्रफलमा सागसब्जी मात्र खेती गर्दै आएका छन् । त्यहाँ उत्पादित सब्जी धरान, विराटनगर, दमकसहित छिमेकी मुलुक भारतमा निर्यात हुने गर्छ ।

अहिले नेपाल–भारत नाका बन्द रहेकाले पनि तरकारीको बजार घटेको सिधुवा कृषि भण्डारका प्रबन्ध निर्देशक एवम् अगुवा कृषक मेघेन्द्र गुरुङ बताउँछन् । ‘हाम्रो तरकारीको मुख्य बजार भारत हो । पूर्वका शहरहरुमा थोरै मात्र खपत हुनाले पनि तरकारी निर्यात घटेको छ ।’ गुरुङ भन्छन् ‘विगत बर्षको तुलनामा यसपटक आधा मुल्य बराबरको पनि सब्जी निर्यात हुने अवस्था छैन ।’

लकडाउनका कारण सागसब्जी विक्री नभएपछि कृषकहरुले गाउँपालिकामा गुनासो गर्दै आएका छन् । यो बिषम परिस्थितीमा लकडाउन पालना गर्नुको विकल्प नभएकाले सागबाट गुन्द्रुक र हरियो मटर कोसालाई बोटमै दाना फलाएर विक्री गर्न कृषकहरुलाई बैकल्पिक सुझाव दिने गरेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए ।

यता, किसानहरुले उत्पादन गरेको दुध भने निर्वाध रुपमा निर्यात भइरहेको छ । तर, गाईभैसीलाई खुवाउने दाना बजारमा अभाव रहेकाले दुधको उत्पादनमा कमी आएको किसानहरुले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!