धनकुटा । धनकुटा नगरपालिका–६ आत्मारा गाउँका धनप्रसाद राईले दुई वर्षअघि वडाध्यक्षसमक्ष बाँदरविरुद्ध उजुरी गरेका थिए । बाँदरको उपद्रोकै कारण अहिले उनी बसाइँ सर्ने तयारीमा छन् । ‘बिहान उठेदेखि बेलुकीसम्म अरू काम छाडेर बाँदर लखेट्न टिन ठटाएर बस्नुपरेको छ,’ उनले भने, ‘बालीनाली पनि रहँदैन, हातमुख जोड्ने बाटो नै बाँदरले खोसिदिने अवस्था भएपछि बस्न सकिएन ।’

Advertisement

हर्कटारका रनपाल राईले पनि आफ्नो १६ रोपनी जग्गामा बाँदरले उपद्रो मच्चाएपछि बाली लगाउनै पाएनन् । बारीमा रोपेको अन्न तथा तरकारीको बीउसमेत बाँदरले खोस्रिएर खाएपछि धनकुटा–२ का दुर्गा श्रेष्ठ दिक्दार बनेका छन् । गोरु जोतेर मकै छर्न लाग्दा बाक्लो बस्तीबीच रहेको बारीबाट बाँदरले बीउ लगेको श्रेष्ठले दुखेसो पोखे । ‘फलफूल, अन्न, तरकारी नष्ट गर्दै आएका बाँदरले पछिल्लो समय घरघरमै पसेर आतंक मच्चाउन थालेका छन्,’ श्रेष्ठले भने, ‘बाँदरले बसिखान दिएन । यस्तै हो भने के उब्जाउनु, के खानु ?’ धनकुटाका ग्रामीण क्षेत्रका सर्वसाधारण यतिबेला विकासका योजनासँगै बाँदर नियन्त्रणको माग लिएर जनप्रतिनिधिसामु धाउने गरेका छन् ।

नियन्त्रण प्रयास असफल

राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेमा बाँदर हेरालुका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यहाँ रहेका बगैंचाका सुन्तला जोगाउन दैनिक पाँच सय १७ रुपैयाँमा आठजना परिचालन गरिएको कार्यालय प्रमुख उमेशकुमार आचार्यले बताए । असोजदेखि माघसम्म जनशक्ति परिचालन गरिने उनले जानकारी दिए । बाँदरले हेरालुलाई समेत हैरान पार्ने गरेको गोपाल सिलुवाल बताउँछन् । त्यहाँ वार्षिक ३० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । बाँदर नियन्त्रणका लागि दुई वर्षअघि धनकुटा नगरपालिकाले १० लाख बजेट विनियोजन गरे पनि प्रयास सफल नभएको स्थानीयको भनाइ छ । नगरपालिकाले भारतको उत्तर प्रदेशबाट बाँदर पक्रन सिपालु आठजना ल्याएको थियो । उनीहरूलाई एउटा बाँदर पक्रिएको एक हजार पाँच सय रुपैयाँ दिइएको थियो । वडा नं. ६ ले त आर्थिक वर्ष ०७४/७५ मा वडा परिषद्बाट ‘बाँदर स्थानान्तरण कार्यक्रम’ शीर्षक राखेर काम सुरु गरेको थियो ।

बाँदर पक्रन छुट्याएको रकम अपुग भएपछि थप पाँच लाख विनियोजन गरिएको नगरपालिका स्रोतले जनाएको छ । अघिल्लो वर्ष धनकुटाबाट कम्तीमा ६ सय बाँदर अन्यत्र स्थानान्तरण गरिएको दाबी गरिएको छ । पक्रिएका बाँदर कहाँ लगेर छोडियो भन्नेबारे स्थानीयलाई जानकारी छैन । धनकुटा नगरपालिका–२ देखि ६ वडामा बाँदरबाट स्थानीयले बढी सास्ती खेप्नुपरेको छ । अघिल्लो वर्षको नियन्त्रण प्रयासले केही कमी भएको वडाध्यक्ष नरेश श्रेष्ठको दाबी छ । विगतको भन्दा फरक प्रजातिको बाँदर देखापरेको उनले बताए ।

बढ्यो बसाइँसराइ

चौबिसे गाउँपालिकाको कुरुलेतेनुपा गाविसबाट बसाइँ सर्ने लर्को चलेकाले गाउँबस्ती सुनसान बनेको छ । खानेपानीको समस्या भोग्दै आएका स्थानीयका लागि खानेपानी योजना थालिए पनि बसाइँ सर्ने क्रम रोकिएको छैन । बसाइँ गएकाहरूको खण्डहर बनेका कतिपय रित्ता घर भत्किइसकेका छन् । पछिल्लो चार वर्षभित्र बसाइँसराइको लहरले अधिकांश बस्ती शून्य बन्दै गएको गाउँपालिकाको कार्यालयको तथ्यांकले पुष्टि गर्छ । ‘०६३ देखि बसाइँ सर्नेको क्रम बढ्दै गयो,’ स्थानीय गोपीकृष्ण भण्डारीले भने, ‘अघिल्लो वर्ष त धेरै नै बसाइँ सरे ।’ जंगली जनावरले बाली सखाप पार्ने र खानेपानीको चरम समस्याका कारण बसाइँसराइ तीव्र बनेको भण्डारी बताउँछन् ।

चौबिसे गाउँपालिका–३ र ४ वडामा समेटिएको कुरुलेतेनुपामा हालसम्म तीन सयभन्दा बढी परिवार विस्थापित भइसकेका छन् । बाजथला क्षेत्र पनि खाली बन्दै गएको छ । अँधेरी गाउँका अधिकांश घर रित्ता छन् । अन्य प्रभावित गाउँमा पनि ९० प्रतिशत बस्ती शून्य छन् । ‘बसाइँसराइको दर्ता किताबका पाना भरिने अवस्था आइसक्यो,’ गाउँपालिका प्रमुख खजिन्द्र राईले भने ।रमेशचन्द्र अधिकारीले आजको कान्तिपुरमा यो खबर लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!