काठमाडौ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा भएका बहुमूल्य कलाकृति भवन अभावमा अलपत्र परेका छन् ।
विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले प्रतिष्ठानको भवन जीर्ण भएपछि बहुमूल्य कलाकृतिको अस्तित्व सङ्कटमा परेको हो ।
“नेपालका सङ्ग्रहालयमा समेत नभएका बहुमूल्य कलाकृति हामीसँग छन्, तर भवन अभावमा जोगाउन गाह्रो भयो, अहिले खुल्ला अस्थायी टहरामा सीमित भएकाले कलाकृति संरक्षण गर्न असम्भव जस्तै छ,” प्रतिष्ठानका सदस्य सचिव नवराज भट्ट भन्नुहुन्छ ।
नेपालमा भएका कलालाई प्रवद्र्धन र विकास गर्ने, ओझेलमा परेको कलाकारिता र कलाकारलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउने उद्देश्यले नक्सालस्थित सीता भवनमा २०२२ सालमा नेपाल ललितकला संस्था स्थापना भएको हो ।
सो संस्था २०३४ सालमा प्रज्ञा प्रतिष्ठानअन्तर्गत रहेको सो संस्था २०६४ सालमा ऐन जारी भएपछि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको रुपमा रुपान्तरण भएको हो ।
बाल मन्दिर र प्रतिष्ठानको संयुक्त नाममा भएको जग्गामा भएको भवन जीर्ण बनेपछि बाल मन्दिरले भत्काउने भने पनि प्रतिष्ठान भने नभत्काउने पक्षमा रहेको छ । यद्यपि कलाको संरक्षण सम्वद्र्धन गर्न उपयुक्त हुने भएकाले प्रतिष्ठान भने पुनःनिर्माण गर्ने पक्षमा छ ।
प्रतिष्ठानले २०२२ सालदेखि भोगचलन गर्दै आई तिरो तिरिरहेको जग्गालाई तत्कालीन प्रधानमन्त्री सुशील कोेइरालाको समयमा बसेको मन्त्रिपरिषद्को अन्तिम बैठकले सो जग्गा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई दिने निर्णय गरेकाले भवन पुनःनिर्माणमा अन्योल थपिएको छ ।
“बाल मन्दिर र प्रतिष्ठानको कुल जग्गा ३९ रोपनी छ भने २४ रोपनी प्रतिष्ठानअन्तर्गत छ । प्रतिष्ठानअन्तर्गतको जग्गा बाटोलाई तीन रोपनी छुट्टयाइएको छ भने १५ रोपनी सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई दिने निर्णय गरिएको छ, बाँकी छ रोपनी जग्गामा के गर्ने ?” सदस्य सचिव भट्ट प्रश्न गर्नुहुन्छ ।
मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले भवन पुनःनिर्माण प्रक्रिया अघि बढ्न नसकेको हो । तत्काल राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अस्थायी ग्यालरी निर्माणको लागि रु ७५ लाख दिने भनेपनि नक्सा पास नभएकाले सो रकम प्राप्त हुन सकेको छैन ।
भवन निर्माण गर्न नेपालस्थित चिनियाँ र भारतीय राजदूतावास इच्छुक देखिन्छन् तर, जग्गा विवादका कारण सो प्रक्रिया अघि बढ्न नसकेको सदस्य सचिव भटृ बताउनुहुन्छ ।
“भूकम्पले भवनको अवस्था यस्तो जीर्ण भएको छ कि धेरै ठाउँमा जान डरलाग्दो छ, अधिकांश सामान अस्तव्यस्त अवस्थामा छन्,” जिन्सी शाखा प्रमुख पुरुषोत्तम न्यौपाने भन्नुहुन्छ ।
हाल प्रतिष्ठानमा बालकृष्ण समका आधुनिक र परम्परागत चित्र, मूिर्त र आफ्नै सङ्ग्रहालयमा भएका परम्परागत कलाकृति संरक्षण गरिएको छ ।
प्रतिष्ठानअन्तर्गतका छ विभाग बजेट अभावका कारण हरेक वर्ष वैशाखमा हुने राष्ट्रिय ललितकला प्रदर्शनी असारमा पुगेको छ । प्रदर्शनीमा ४५० कलाकारका ५०० भन्दा बढी कलाकृति नेपाल कला परिषद्, बबरमहलमा प्रदर्शन हुने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई समेत भवनको आवश्यक भएकाले सरकारले उपयुक्त स्थानमा जग्गा व्यवस्था गर्नसके कलाकृतिको सम्बद्र्धन र प्रवद्र्धन गर्न सहयोग पुग्ने भएकाले प्रतिष्ठानको समस्या समाधान गर्न सम्बन्धित निकायसँग अनुरोध गर्नुभयो ।
हाल नेपाली कलामध्ये धातुका मूर्ति अन्तर्राष्ट्रियस्तरमा माग भइरहेको छ । “नेपाली कलाकारिताले उचाइ लिइरहेको र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल भइरहेको हुँदा भवन पुनःनिर्माण अत्यावश्यक छ,” कुलपति रागिनी उपाध्याय भन्नुहुन्छ ।