चितवन। राम्रो वन क्षेत्रका रुपमा परिचित चितवनमा यस वर्ष सरकारी तवरबाट मात्रै ११ लाख ४५ हजार बिरुवा रोपिने भएको छ ।

Advertisement

जिल्ला वन कार्यालयले व्यवस्थापन गरेको नर्सरीमा आठ लाख ९५ हजार बिरुवा तयार भएका छन् भने निजी क्षेत्रबाट दुई लाख ५० हजार बिरुवा खरिद गरिँदै छ ।

जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जिल्लामा १५ लाखभन्दा बढी बिरुवाको माग भए पनि उत्पादन गर्न पर्याप्त बजेट नहुँदा मागअनुसार बिरुवा वितरण गर्न नसकिएको बताउनुभयो । जिल्ला वन कार्यालयले असारको दोस्रो साताबाट सरकारी र निजी क्षेत्रलाई निःशुल्क बिरुवा वितरण गर्दैछ ।

कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार वृक्ष सुधार तथा निजी वन कार्यक्रममार्फत पाँच लाख ५० हजार, राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत एक लाख १० हजार, सामुदायिक वन कार्यक्रममार्फत ८५ हजार, आपूर्ति समितिमार्फत ५० हजार, हेटौँडा–भरतपुर २२० केभी विद्युत् प्रसारण लाइनमार्फत एक लाख बिरुवा उत्पादन गरिएको छ । यी बिरुवा निःशुल्क वितरण गरिने छ ।

वृक्ष सुधार तथा निजी वन कार्यक्रमका लागि दुई लाख ५० हजार बिरुवा निजी नर्सरीबाट समेत खरिद गरी वितरण गरिँदैछ । निजी नर्सरीमार्फत पनि बिरुवा उत्पादन गरी वृक्षरोपण हुने गर्छ । यसको यकिन तथ्याङ्क भने कार्यालयमा रहेको पाइँदैन ।

गत वर्ष बहुसरोकार कार्यक्रममार्फत बिरुवा उत्पादन गरी वितरण गरिएको भए पनि यस वर्ष सो कार्यक्रम नभएकाले केही कम उत्पादन गरिएको पौडेलले बताउनुभयो ।

सरकारी, सार्वजनिक र निजी क्षेत्रलाई वृक्षरोपणका लागि बिरुवा दिइँदैछ । निजी क्षेत्रलाई भने लालपुर्जाका आधारमा बिरुवा दिइने उहाँले बताउनुभयो ।

जिल्लामा म्याङ्गो स्टिक, कपुर, धुपी, बकाइनो, चाँप, खनियो, मसला, टाँकीलगायत ३० प्रकारका बिरुवा उत्पादन गरिएको छ । केही साना बिरुवालाई अर्काे वर्ष वितरण गर्ने योजना रहेको छ । गत वर्ष हुर्किन नसकेका साना बिरुवा यस वर्ष वितरण गरिँदैछ ।

जिल्लामा ४४ हजार ९३६ हेक्टर क्षेत्रफलमा वन कार्यालयअन्तर्गतको वन क्षेत्र रहेको छ भने चितवन राष्ट्रिय निकुञ्ज ८३ हजार ५६४ हेक्टरमा फैलिएको छ ।

वन कार्यालयअन्तर्गत वरण्डाभार वन क्षेत्र १० हजार ३०२ हेक्टर, सामुदायिक वन क्षेत्र २१ हजार १६६ हेक्टर, कबुलियती वन क्षेत्र एक हजार ५२७ हेक्टर र धार्मिक वन २९ हेक्टरमा फैलिएको छ । जिल्लामा सामुदायिक वन ८७, कबुलियती वन ३७६ र धार्मिक वन पाँचवटा रहेका छन् ।

पछिल्लो समय वन अतिक्रमण हुन नपाए पनि अतिक्रमित वन क्षेत्र खाली गर्न भने सकिएको छैन । यस वर्ष १० हेक्टर अतिक्रमण हटाउने लक्ष्य राखिएको भए पनि काम नभएको कार्यालयले जनाएको छ । जिल्लामा एक हजार ६८८ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!