वीरगञ्ज, ४ माघ । सङ्घीय सरकारले उखुको समर्थन मूल्य तोकेपछि प्रदेश नं २ मा रहेका चिनी मिल सञ्चालनमा आएका छन् । मूल्य विवादको कारण करीब दुई महीना ढिलो गरी चिनी मिल सञ्चालनमा आएको हो ।

यसवर्ष समयमा उखु उद्योग सञ्चालनमा नआउँदा ५० प्रतिशत उखु खेतमै नष्ट हुँदै आएकोमा सरकारले केही दिन अघि यस वर्षका लागि उखुको समर्थन मूल्य प्रति क्विन्टल रु ५३६ रुपैँया ५६ पैसा तोकेपछि उखु उत्पादक किसान र चिनी मिलका सञ्चालकबीच भएको सहमतिअनुसार प्रदेश नं २ मा रहेको चिनी मिल सञ्चालनमा आएका छन् ।

माघ १ गतेबाट सञ्चालनमा आएको हरिवन नगरपालिका–४ सर्लाहीका इन्दुशङ्कर चिनी मिलले ३५ लाख उखु पेल्ने लक्ष्य लिएर उद्योग सञ्चालन गरेका छन् । मिलले धार्मिक परम्पराअनुसार डोङ्गा पूजा गरेर मिल सञ्चालन गरेको सहायक उपप्रमुख दिवाकर पौडेलले राससलाई बताउनुभयो ।

गतवर्ष पुसको पहिलो साता नै सञ्चालनमा आएको चिनी मिलले ३९ लाख ९९ हजार १२२ क्विन्टल उखु क्रसिङ गरेको थियो । सरकारले अघिल्लो वर्षमा ४० लाख क्विन्टल उखुको मूल्य अभिवृद्धि करवापत रु ११ करोड २० लाख अनुदान रकम उखु किसानलाई दिन नसकेकाले किसान आर्थिक मारमा परेको मिल व्यवस्थापनको आरोप छ ।

सर्लाहीमा १८ हजार बिघा क्षेत्रफलमा उखुखेती गर्दै आएका ५० हजार किसानले मिलबाट प्रत्यक्ष आर्थिक लाभ लिँदै आएको छ । तर उद्योगले चिनी बिक्री भएपछि मात्र उखुको भुक्तानी दिने भएकाले उखुखेतीबाट समयमा आर्थिक लाभ लिन नसकेको गुनासो स्थानीय किसान रामउदगार यादवको छ ।

यसैगरी सर्लाही जिल्लाको बगदाहास्थित महालक्ष्मी सुगर मिलले पनि बुधबारबाट उखु क्रसिङ शुरु गरेको छ । सर्लाहीको पश्चिम धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग, रौतहटको श्रीराम सुगर मिलसम्म सञ्चालनमा आएको छैन ।

सरकारले उखु खरीदको समर्थन मूल्य तोकेपनि ती उद्योगले किसानलाई गत वर्षकै बाँकी रकम तिर्न नसकेकाले मिल हालसम्म सञ्चालनमा आउन नसकेको श्रीराम सुगर मिलका प्रबन्धक पिके झाले राससलाई बताउनुभयो ।

समयमा चिनीमिल सञ्चालनमा नआउँदा, सुख्खा मौसम भएकाले उखुबारीमा आगलागीको सम्भावना बढेको, ५० प्रतिशत उखु खेतमै सुख्ने गरेको धनगढवाका किसान लक्ष्मण यादवको गुनासो छ । उहाँ भन्नुहुन्छ, ‘‘समयमा उखु बिक्री नहुँदा पैसा पाउन सकेका छैनौँ भने कतिबेला उखु बारीमा आगो लाग्ने हो भन्ने चिन्ता भएको छ ।’’

मुलुककै सबभन्दा बढी उखुखेती हुने सर्लाही जिल्लामा रहेका सबै चिनी मिल समयमै सञ्चानलमा नआउँदा मिहिनेत गरेर हुर्काएको उखु खेतमै सुक्न थालेको छ । महोत्तरी जिल्लाको गौशाला नगपालिकाको रामनगरस्थित एभरेष्ट सुगर मिल पुसको अन्तिम साता सञ्चालनमा आए पनि पर्याप्त उखुको अभावमा बन्द भएपछि त्यस भेगका उखु उत्पादक किसान आर्थिक मारमा परेका छन् ।

उद्योगको प्रबन्धक जुगलकिशोर चौरसियाले ३५ हजार क्विन्टल उखुको पूर्जी बाँड्दा दुई हजार क्विन्टल उखु मात्र मिलमा आउँदा यो अवस्था आएको बताउनुहुन्छ । एभरेष्ट सुगर मिल नियमित सञ्चालनमा आउनको लागि दैनिक ५० हजार क्विन्टल उखु आवश्यकता पर्दछ तर हामीसँग १० हजार क्विन्टल उखु मात्र भएकाले उद्योग नियमित सञ्चालनमा आउन नसकेको प्रबन्धक चौरसियाको बताउनुहुन्छ ।

उता सिरहा जिल्लाको चन्द्रअयोध्यापुर चोहर्वाको हिमालय सुगर मिल पनि २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएर मिल सञ्चालनमा आएको छ । धनुषा र सिरहाका करीब १५ हजार किसान यस मिलमा आश्रित रहेका छन् । प्रतिदिन २० हजार क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएर मिल सञ्चालनमा आएपनि उखुको आपूर्ति कम भएको मिलका महाप्रबन्धक कृष्णचन्द्र लाल कर्ण बताउनुहुन्छ ।

यता पर्सा जिल्लामा यस वर्ष किसानले सबभन्दा कम छ हजार हेक्टरमा मात्र उखुखेती गरेको छ । यस क्षेत्रमा रहेको रिलायन्स सुगर मिल सञ्चालनमा आएपनि उखु क्रसिङको काम सञ्चालनमा आएको छैन । सरकारले उखुको समर्थन मूल्य तोकेपछि किसान उखु काट्न वेस्त रहेका छन् ।

अघिल्लो वर्ष समयमै चिनी मिल सञ्चालनमा आएपछि किसानलाई राहत भएको थियो । प्रदेश नं २ मा यस वर्ष उखुको मूल्य विवादले करीब दुई महीना ढिलो गरी चिनी मिल सञ्चालनमा आएकाले किसानलाई यतिबेला उखु काट्न भ्याइनभ्याइ भएको छ । प्रदेश नं २ को आठ जिल्लामा आठ वटा चिनी मिल रहेका छन् भने केही बन्द अवस्थामा रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!