धनकुटा, २ माघ । मौलिक भाषा संरक्षण र अनुसन्धानमा सम्बन्धित जातजातिको उति ध्यान नगएको अवस्थामा सात समुद्र पारबाट आएका एक विदेशी भने यस कार्यमा जुटेका छन् । विदेशी मूलका नागरिक स्थानीयवासीसँग मौलिक भाषामा कुरा गरेको सुन्दा अचम्म लाग्ने गर्छ । उनी हुन्, दक्षिण अमेरीकी मुलुक चिलीका नागरिक २५ वर्षीय रोल्फ होट्स मोलिना ।

केही समयअघि नेपाल आएका उनी यति बेला धनकुटाको छिन्ताङमा त्यहाँको छिन्ताङे भाषाबारे शोध अनुसन्धान गरिरहेका छन् । स्वीट्जरल्यन्डको जुरिक विश्वविद्यालयमा स्नातकोत्तर तहका विद्यार्थी मालिना धनकुटामा मात्र प्रचलित छिन्ताङे राई भाषाको अध्ययनका लागि छिन्ताङ पुगेका हुन् ।

विश्वविद्यालयमा भाषासम्बन्धी अध्ययन गर्दै आएकाले दुर्लभ प्रकारको भाषाबारे शोध गर्ने क्रममा आएको उनले बताए । नेपाल आउनुअघि नै छिन्ताङे राई भाषाबारे पुस्तक विश्वविद्यालयको पुस्तकालयमा उनलाई पढाउने प्राध्यापकले उपलब्ध गराएपछि यसबारे गहन अध्ययन गर्ने उत्प्रेरणा जागेको सुनाए ।

प्राध्यापक बाल्थाजार विकलले छिन्ताङे भाषाबारे अध्ययन गर्ने प्रेरणा दिएको उनले सुनाए । विकल जर्मनीको लाइप्चिख विश्वविद्यालयमा समेत भाषा विज्ञान विभागका प्राध्यापक पनि हुन् । उनले त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान प्राध्यापक नोवलकिशोर राईसँगको सहकार्यमा छिन्ताङे भाषाबारे गहन अध्ययन गरेका थिए ।

२ वर्षे अवधिको पढाइको अन्तिम प्रतिवेदन तयार पार्ने क्रममा उक्त भाषा बुझ्न मोलिना सहिदभूमि गाउँपालिकास्थित छिन्ताङ गाउँमा पुगेका छन् । एक हप्ताको बसाइका क्रममा नै स्थानीय भाषाबारे धेरै बुझ्न पाएको उनले बताए । ‘मलाई छिन्ताङे भाषा सिक्न र बोल्न धेरै आनन्द आएको छ,’ उनले भने, ‘स्थानीयवासीले मैले राखेको चासो र उत्सुकताबारे मद्दत गरेकोले सहज भएको छ ।’ आगामी डेढ महिना छिन्ताङमा नै बसेर छिन्ताङे भाषाबारे शोधमा जुट्ने उनले सुनाए ।

नेपाल आएपछि उनले आफ्नो नेपाली नाम जुराएको बताए । उनको नाम सोध्नेलाई राजु राई भन्ने गरेका छन् । उनले ठट्यौली गर्दै भने, ‘मैले आफूलाई राई भन्दा मेरो नाक हेरेर अरूले जिस्क्याउने गर्छन् ।’ छिन्ताङमा रहेर उनले छिन्ताङे भाषाको अध्ययनसँगै संस्कार र संस्कृतिको तथा बालबालिकाले प्रयोग गर्ने भाषाबारे गहन अध्ययन गर्ने बताए ।

स्नातकोत्तर तहको पढाइ सकेर पनि छिन्ताङे भाषामा पीएचडी गर्ने मनसायमा छन् उनी । आफ्नो देशमा नै विभिन्न जातीय भाषा संस्कृति भए पनि छिन्ताङे राईबारे जानकारीयुक्त पुस्तक पढ्ने अवसर पाएपछि यसैमा शोध अनुसन्धान गर्ने इच्छा जागेको उनको तर्क छ । तीन वर्षपहिले नेपाल पहिलो पटक आउँदा आफूलाई ग्रामीण बस्ती घुम्न र भाषाबारे चासो जागेको जानकारी दिए । छोटो अवधिमा नै छिन्ताङे भाषाबारे दख्खल राखेको स्थानीयले बताए ।

स्थानीयवासीसँग छिन्ताङे भाषामा धेरै कुराकानी गर्न सक्ने भएको पूर्वशिक्षक दलबहादुर राईले सुनाए । दैनिक अधिकांश समय छिन्ताङे भाषाबारे अध्ययन र चासो राख्दै बिताएको मोलिना बताउँछन् । उनी नेपाली भाषामा पनि कुराकानी गर्ने गर्छन् । आजको कान्तिपुरले यो खबर छापेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!