रेणु दाहालको उम्मेदवारीदेखि नै भरतपुर महानगरपालिका चर्चामा आयो । मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर यतिबेला झनै बढी चर्चामा छ ।
एमालेले निर्वाचन हार्ने निश्चित भएपछि मतपत्र च्यातेको आरोप कांग्रेस र माओवादीले लगाएका छन् । रेणुले मतान्तर कम बनाउँदै लगेकी थिइन्, त्यसैले एमालेहरुले अत्तालिएर मतपत्र च्याते भन्ने आरोप उनीहरुबाट आइरहेको छ ।
यदि साँच्चै देवी ज्ञवालीले चुनाव हार्दै थिए भने बाँकी रहेका मतपत्र गणना गरेर देवी ज्ञवालीलाई हराउन छाडेर मतपत्र च्यात्नेजस्तो अपराधिक कामलाई संस्थागत गर्ने काम किन ? पुनः मतगणना गरेर देवी ज्ञवालीलाई हराए के हुन्छ ? यो प्रश्न माओवादीतिर तेर्सिएको छ ।
पुनः मतगणना गर्न नमानेर पुनःमतदानलाई किन कांग्रेस र माओवादीले जोड गरिरहेका छन् ? कतै यो चोरको खुट्टो काट् भन्दा उचाल्ने प्रवृति त होइन ?
देवी ज्ञवालीले अहिले पनि भनिरहेका छन् कि यदि एमाले र देवी ज्ञवाली हार्दै थियो र छ भने मतगणना शुरु गरेर हराइदेउ ।
के ‘जित्दै गरेकी’ रेणुले अब मतगणना पुनः शुरु गरेर देवी ज्ञवालीलाई हराउने हिम्मत गर्न सक्छिन् ? एमाले महासचिव ईश्वर पोखरेलले समेत एमाले पुनः मतगणनाबाट आउने परिणाम स्वीकार गर्न र हार्न तयार भएको प्रतिक्रिया दिएका छन् ।
अब हार स्वीकार्न तयार रहेको अभिव्यक्ति दिने पालो माओवादी पार्टी र रेणु दाहालको हो ।
मतपत्र च्यात्नुपूर्वको पृष्ठभूमि
भरतपुर महानगरपालिकामा माओवादीको अवस्था कमजोर छ । तर, उसले सत्ता साझेदार कांग्रेस, जो बलिया मानिएको छ, उसको बैशाखी टेकेर उभ्याउने प्रयास गर्यो ।
अंक गणितका हिसावले हेर्दा कांग्रेस र माओवादीको गठवन्धनमा इमान्दारितापूर्वक मतदान हुँदा उनीहरुले नजित्ने भन्ने प्रश्न नै आउँदैनथ्यो । तर, कांग्रेसका रुष्ट भएका मान्छेहरुको मत पाउने र निर्वाचन जित्ने अभिप्रायका साथ मैदानमा उभिएको थियो एमाले पनि ।
महानगरका अधिकांश भागमा कुनैबेला कांग्रेस भएकै कारणले माओवादीबाट कुटिएर, खेदिएर आएका मानिसहरु बसोवास गरेको पाइन्छ । ती कांग्रेसहरुको साहानुभूतिलाई ‘क्यास’ गर्ने र अन्य सचेत कांग्रेस सर्मथकहरुको समेत मत पाएर जित्ने एमाले उम्मेदवार देवी ज्ञवालीको दाउ थियो ।
संगठनको बलमा उभिने र लोकपि्रय मत पाएर बाजी मार्न ज्ञवालीले हरसम्भव प्रयास गरेको देखिन्छ । रुष्ट भएका कांग्रेसहरुलाई सत्ता गठवन्धन माओवादीसँग रहेको र भोलि निर्वाचनमा गठवन्धन हारे एमालेले कांग्रेस र माओवादी मिल्दा पनि जितियो भन्छ र दम्भ बढ्छ । त्यसपछि कैयौं बर्षसम्म एमालेको गोडामुनि बस्नुपर्दछ । मत दिएपनि नदिएजस्तो हुन्छ । त्यसैले बरु गठवन्धनकै पक्षमा हालौं भन्ने सन्देश कांग्रेसले आफ्नो बुँताले भ्याएसम्म निर्वाचन अघिका पछिल्ला दुई दिनमा पुर्याउन खोजेको देखिन्छ ।
शुरुमा गठवन्धनको सहयात्री दल कांग्रेसभित्रको समस्याका कारण निरास बनेकी रेणु दाहाल निर्वाचनपछि भने केही उत्साहित थिइन् । कांग्रेसभित्रको समस्या करीव करीव समाधान भएको र गठवन्धनकै पक्षमा मत झरेकाले निर्वाचन जित्नेमा ढुक्क हुन कांग्रेसले ढाडस दिएको थियो ।
मतगणनाका क्रममा शुरुवाटै देवी ज्ञवालीले लिड गर्न थाल्नु र वडा नः १, २, ३, ४ र ५ बाट कांग्रेसको मत समेत देवी ज्ञवालीले पाएको देखेपछि रेणु दाहाल र कांग्रेस झस्किन थालेका थिए । एमालेले वडामा हार्दा पनि मेयरमा रेणुलाई भन्दा २/४ सय मत बढी नै मत पाएका रहेछन्, जुन गणनाका क्रममा देखियएपछि गठवन्धनमा कांग्रेसले धोका दिएको निष्कर्ष माओवादी वृत्तको छ ।
कांग्रेस नेताहरुले बजार क्षेत्रबाट मत नआए पनि पश्चिम चितवनका भूभागमा गणना भएपछि गठवन्धनका पक्षमा बढी मत आउने र जित्ने आश्वासन दिएर माओवादीलाई आश्वस्त पार्ने काम गरिरहेका थिए । यसको नेतृत्व स्वयं कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ, नेतृ उमा रेग्मी, सांसद अञ्जनी श्रेष्ठ र रामकृष्ण घिमिरेहरुले गरेका थिए ।
तर, वडा नः ६, ७, ८ र २५ बाहेक अन्य वडाहरुबाट सन्तोषजनक मत गठवन्धनका पक्षमा झरेन । कुनै पनि समय देवी ज्ञवालीलाई रेणुले लिड गर्न सकिनन्, जसका कारण रेणु बेखुसी भएको स्वयं अन्तरवार्ताका क्रममा नै उनले भनेकी थिइन् ।
धेरै मतदाता भएको वडा नः १५, वडा नः १६, १७ र १८ बाट समेत गठवन्धनका पक्षमा कम मत आयो । जसले मतपत्र च्यात्ने अवस्थामा पुर्यायो कांग्रेस माओवादी गठवन्धनलाई ।
त्यो षडयन्त्रपूर्ण मध्यरात
दिउँसो करीव ४ बजे वडा २१ को मतगणना सकियो । कांग्रेसले वडा जित्यो । वडा नं २१ मा गणना गर्नुपूर्व एमाले उम्मेदवार देवी ज्ञवालीको ११४५ मतको अग्रता कायम थियो ।
वडा नं २१ सकिँदा ज्ञवालीले ३६१ मत गुमाए । जुन मत एमालेको अपेक्षाभन्दा बढी र कांग्रेस माओवादीको अपेक्षा भन्दा कम घटेको थियो । यस वडाबाट ५ सयदेखि ६ सयसम्म लिड गरेको मत घट्ने विश्वास माओवादीलाई कांग्रेसले दिएको थियो । तर, त्यसो भएन । सोचेभन्दा बढी मत घटेको भन्दै एमालेहरु पनि आत्तिए । यही तरीकाले घट्ने क्रम वडा नः १९ मा पनि रहे एमालेको पराजय निश्चित थियो ।
वडा नः १९ को मतगणना अघिसम्म देवी ज्ञवालीको लिड जम्मा ७८४ थियो । वडा नं १९ नै एमाले र कांग्रेस माओवादी गठवन्धनको पराजय र विजयको संकेत गर्ने वडा थियो ।
मूलतः दलित र आदिवासी जनजाति -तामाङ र गुरूङ) समुदायको अधिक बाहुल्य भएको यस वडाको मतगणना शुरु भयो । कांग्रेसले माओवादीलाई वडा नः १९ बाट एमालेको लिडबाट ६ सय मत घटाउने आश्वासन दिएका थिए । पहिलो ६ सयको गणनामा एमालेले २० मत माइनस गर्यो । त्यसपछिको ६ सयमा ९ मत र यसपछिको ६ सयमा २२ मत माइनस भयो ।
यसको मतलव, १८०० मत गणना गर्दा जम्मा ५१ मत मात्रै देवी ज्ञवालीको लिडबाट घटेपछि कांग्रेस र माओवादीहरु अत्तालिए । कांग्रेसको भर माओवादीलाई लाग्न छाड्यो । १०६७ मत वडा नं १९ को गणना गर्न बाँकी थियो । सो मतबाट पनि धेरै मत एमालेले गुमाउनु नपर्ने देखिएपछि नयाँ योजना बनाउने तयारीमा लागे माओवादी र कांग्रेस ।
१८ सय मतको गणना सकिएपछि खाना खाने ब्रेक भयो । पहिलो १२ सय गणना गर्दा जम्मा २९ मत मात्रै गुमाएपछि एमालेहरूमा उत्साह थपिएको थियो भने कांग्रेस माओवादीमा निराशा ।
समग्रमा मतगणनास्थल बाहिर एमालेका कार्यकर्ताहरु बढी उपस्थित थिए भने कांग्रेस र माओवादीका कम । खासै मतगणना भएको स्थलमा उपस्थित नहुने रेणु दाहाल पनि त्यस दिन केहीबेर मतगणना स्थलमा थिइन् ।
रातिको सवा ९ बजे खाना खान निस्किएका दलका प्रतिनिधिहरु मध्ये एमालेका प्रतिनिधि १० बजे मतगणना स्थलभित्र प्रवेश गरे भने कांग्रेस र माओवादीका आधा घण्टा पछिमात्रै आए । सोही रात नै १५ दिन लामो मतगणना प्रकृयाको अन्तिम रात बन्यो ।
जेठ १५ गते गणतन्त्र दिवसको दिन बिहानै भरतपुर महानगरपालिकाले नयाँ मेयर पहिलोबाट पाउनेछ भन्ने आशामा धेरै मानिसहरु मतगणना स्थल बाहिर थिए ।
यही क्रममा बाहिर एउटा हल्ला जर्बजस्त फैलियो कि माओवादीले हार्ने जस्तो भयो भने भित्रै मतपत्र च्यात्ने योजना बनाएको छ । सञ्चारकर्मीहरुका बीचमा पनि त्यो खबर आएको थियो ।
वडा नः १९ ले सोचजस्तो नतिजा गठवन्धनलाई दिने अवस्था नदेखिएपछि जसरी पनि मतपत्र च्यात्ने योजना बन्यो, जिविसले भाडामा लगाएको गंगाराम कलेजमा । मासिक ४० हजार भाडा तिर्ने गरी एक माओवादी कार्यकर्ताले यो भवन विगत केही वर्षदेखि प्रयोग गर्दै आएका छन् ।
स्रोतहरुका अनुसार त्यही भवनको दक्षिण-पश्चिमतर्फको कोठामा मतपत्र च्यात्ने योजना बन्यो । उनीहरुले यस्तो घटना घटाउँदैछन् भन्ने सूचना स्वयं जिल्ला प्रहरी कार्यालयका एसपी दीपक थापा, डीएसपी दीपक श्रेष्ठ, प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने र सञ्चारकर्मीहरुलाई समेत जानकारी थियो ।
खाना खाएर दलबलसहित माओवादी केन्द्रका नयाँ एजेन्टहरु भित्र पसे । केहीलाई प्रहरीले च्यानल गेटमा नै रोक्न खोज्यो । तर, डिउटीमा बसेका सुरक्षाकर्मीलाई थर्काएर माओवादी चितवनका जिल्ला नेता अविनासले माओवादीका नयाँ एजेन्टहरु दिलिप पौडेल, साजन अधिकारी, संघर्ष, वाइसिएलका जिल्ला अध्यक्ष मधु न्यौपाने एवं द्रोण सिवाकोटीलाई भित्र हुले । मतगणनाका ६ वटा टेबलमा पहिलाका सबै प्रतिनिधिहरु परिवर्तन गरी समूह समेत परिवर्तन गरी उनीहरु बसे ।
उनीहरु केही समय शान्त भए । जब रातको ११ बजेर ५२ मिनेट गयो, त्यसपछि भित्र होहल्ला शुरु भयो । माओवादीका एजेन्टहरु पोलिट्ब्यूरो सदस्य सूर्य सुवेदी पथिक, मधु न्यौपाने, द्रोण सिवाकोटीहरुले मतपत्र च्याते । प्रहरीले तुरुन्तै पक्राउ गर्यो । सो घटना स्वयं कांग्रेसका सभापति र माओवादीका जिल्ला नेताहरुले देखिरहेका थिए ।
लगत्तै बाहिर रहेका एमाले कार्यकर्ताहरुले प्रर्दशन शुरु गरे । प्रहरीले पक्राउ गरेका वाइसिएलका जिल्ला अध्यक्ष मधु न्यौपानेलाई गाडीमा हालेर लैजान लाग्दा प्रहरी र एमाले कार्यकर्ता बीच गेटमा ठेलाठेल भयो । प्रहरीले भगाउन खोज्यो भन्दै गेट खोल्न दिएनन् एमाले कार्यकर्ताले । त्यसपछि प्रहरीले लाठी चार्ज गर्यो । भित्रबाट एकजना न्यौपानेलाई मात्रै पक्राउ गरेर गाडीमा हाल्दा नहाल्दै भित्रै बसेका माओवादी एजेन्ट द्रोण सिवाकोटीले फेरि मतपत्र च्याते । उनलाई पनि प्रहरीले पक्राउ गरेर गाडीमा हाल्यो ।
गाडीमा राखेका बेला एमाले कार्यकर्ता गंगा लामा सिवाकोटीलाई कुट्न पुगे । सोही बेला प्रहरीले लामालाई पनि पक्राउ गरेर लग्यो ।
बाहिर ठूलो संख्यामा एमाले कार्यकर्ता उपस्थित भएर नारावाजी गरिरहेका थिए । उनीहरुमाथि पनि प्रहरीले लाठीचार्ज गर्यो । च्यातिएका मतपत्र गणनास्थलमा ओछ्याइएको तन्नामा बेरेर राखियो ।
प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आफू पिसाब फेर्न गएका बेला मतगणना स्थल कब्जा गरी रणभूमि बनाएको प्रतिक्रिया दिए ।
निर्वाचनसम्वन्धी ऐनमा भएको व्यवस्थाको भाषासँग ठ्याक्कै मिल्ने गरी न्यौपानेले सञ्चारकर्मीसँग प्रतिक्रिया दिएको एमालेको दाबी छ । घटना भएका बेला पिसाब लाग्नु संयोग मात्रै मान्न सकिएला तर उनले सञ्चारकर्मीलाई दिएको प्रतिक्रिया जस्तो मतगणना स्थल न त कसैले कब्जा गरेको थियो, न त रणभूमि नै भएको थियो । न्यौपानेले प्रयोग गरेका यी शब्दहरुले कतै पिसाब लाग्नु, घटना हुनु र निर्वाचनको ऐनको दफासँग मिल्ने भाषा प्रयोग हुनु बाघ कराउनु र बाख्रा हराउनुजस्तो संयोग मात्रै नहोला कि भनेर प्रश्न उठाउन सकिन्छ ।
आखिर किन च्यातियो मतपत्र ?
मतपत्र च्यातिनुका पछाडि सम्भावित हारको भय र त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसक्नु नै देखिन्छ । र, यसको पनि कारण छ ।
भरतपुर महानगरपालिकाको राप्ती बेल्ट अर्थात दक्षिणपूर्वी वडाहरुबाट तुलानात्मक रुपमा देवी ज्ञवालीलाई भन्दा रेणु दाहाललाई बढी मत आएको देखिन्छ । तर, महानगरको पश्चिम क्षेत्रका वडाहरुबाट भने कम मत आयो ।
महानगरका वडा नं १३, १४, २१, २२, २३, २५ नम्वर वडाबाट रेणु दाहालले देवी ज्ञवालीले भन्दा बढी मत ल्याएकी छिन् । तर, कांग्रेसको प्रभाव क्षेत्र मानिएका र बढी मत झरेका पश्चिम चितवनका वडाहरुबाट कम मत प्राप्त गरेकी छिन् । जस्तो कि वडा नं १५, १६, १७, १८ र वडा नः १९ बाट पनि ।
राप्ती बेल्टको वडा नं २२ एमालेले जिते पनि १५३ मत एमालेले तिरेको छ भने नारायणी बेल्टको वडा नं २८ हारे पनि देवीले ४ सय मत थप पाएका छन् । यसरी हेर्दा कांग्रेसले आश्वासन दिएजस्तो वडा नं १५, १७ र १८ बाट धेरै मत एमालेले गुमाउनु परेन ।
वडा नं १७ बाट देवीले २३७ मत र वडा नः १८ बाट २८७ मत एमालेले तिरेको छ । जब कि यी वडाहरुमा कांग्रेसले ५ सयदेखि ७ सय मत एमालेले तिर्नुपर्ने डाटा माओवादीलाई सुनाएका थिए ।
गणना गर्दै गरेको वडा नः १९ र बाँकी रहेको वडा नः २० पनि नारायणी बेल्टकै वडाहरु हुन् । वडा नः १९ ले एमालेलाई धेरै घाटा लगाएन । बढीमा १ सय प्लसकै हाराहारीमा लिड गरेको मत ७८४ बाट एमालेले तिरे पनि बाँकी ६८४ मतको लिड लिएर वडा नः २० मा एमाले जाने अवस्था तयार भए पनि नै यो घटना भएको हो ।
वडा नः २० मा ३ बटा मतदान केन्द्र थिए । वडा नम्वर २० मा ३३०२ मत खसेको थियो । सिमलटाँडी बुथ, दद्रेनी र भीमनगर विद्यालयका बुथमध्ये सबैभन्दा बढी मत १७ सय चानचुन खसेको थियो । सिमलटाँडी र द्रदेनी बुथमा एमालेको पकड क्षेत्रमा पर्दछ भने भीमनगर बुथ कांग्रेसको ।
वडा नः २० बाट ११ सय कम्तिमा पनि मत ल्याउने दावी एमालेको थियो । वडा नः २० मा एमालेले अधिकत्तम माइनस हुँदा ४ सयदेखि ५ सय मत मात्रै तिर्नुपर्ने आकँडा निकालेको थियो । लिडमा हुने करीव ६८४ मतमा ११ सय मत जोड्दा १७ सयको हाराहारीमा एमालेको मत पुग्छ । जुन मत कांग्रेस-माओवादी गठवन्धनलाई हराउन प्रयाप्त थियो ।
जसरी पनि जित्ने उद्देश्यमा अन्तरनिहीत भएकी रेणुका लागि यो नै सबैभन्दा ठूलो धक्का थियो । त्यसपछि कांग्रेसले फसाएको र धोका दिएको निष्र्कषसहित मतपत्र च्यात्ने योजना जिविसले भाडामा लगाएको घरमा भएको बुझिएको छ ।
पश्चिम चितवनलाई कांग्रेसले जतिसुकै आफ्नो प्रभाव क्षेत्र भने पनि ०७१ सालमा भएको उपनिर्वाचनकै क्रममा कांग्रेसका गड एमाले उम्मेदवार पार्वती रावलले भत्काएकी थिइन् । परम्परागत गढ कांग्रेसका होला, तर मतदाता एमालेका । पूर्वी चितवनको तुलनामा पिछडिएको पश्चिम चितवनका जनताले विकासमा पछि परेको कांग्रेसकै कारण हो भन्ने कुरा बुझ्न थालेका थिए । पश्चिम चितवन जाने मुख्यसडक भरतपुर, रामपुर चनौली सडकखण्डको हरिबिजोग भएको बर्षौं बितेको छ । सधैं भोट बैंकका रुपमा मात्रै जनतालाई प्रयोग गर्दै आएको कांग्रेसले जनताले दाम्लो चुडाएको र कसैको बँधुवा गाईवस्तु नभएको भन्दै मतदानमा विद्रोह गर्ने पत्तो कांग्रेसले पाएको थिएन ।
प्रचण्डपुत्री हुनुको फलीफाप
रेणु दाहालले जतिसुकै बचाउ गरे पनि लुकेको तथ्य र देखिएको सत्य के हो भने उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी भएकै कारणले भरतपुर महानगरको मेयर पदमा टिकट पाएकी हुन् ।
माओवादीको भनिने जनवादी केन्द्रीयताको डण्डा लगाएर रेणु दाहाल भरतपुर महानगरमा मेयरको टिकट ल्याउँदा सधैं जिल्लामा खट्ने र जुत्ताका तलुवा खियाउने माओवादीका जिल्ला नेताहरु नानीझार जस्तै ओइलाए । भित्रभित्र रीस उठे पनि त्यो रीस परिवारका सदस्य बाहेक अरुसँग पोख्ने र राख्ने ल्याकत उनीहरुमा थिएन ।
स्वयं पार्टी अध्यक्ष प्रचण्डकी छोरी नै मेयरको उम्मेदवार भएर आएपछि अरुले मुखबाट बाफ निकाल्न सक्ने कुरै भएन । तर, यसको जवाफ कतिपयले मतदानबाट दिएका छन् । मतपत्रमा भएका ७ वटा चिन्हमध्ये मेयरमा रेणु दाहाल बाहेक सबै हसिँया हथौडाका चिन्हमा छाप लगाएर समेत प्रचण्डको छोरी प्रेमको बिरोध माओवादी कार्यकर्ताले गरेको समेत देखियो ।
पार्टीबाट मेयरको टिकट लिँदै गर्दा जिल्लाका नेताहरु जसरी चेपिए, त्यसपछि अर्को रोल शुरु भयो । जसरी पनि रेणुलाई जिताउने । रेणुलाई जिताउनका लागि कुनै एउटा बलियो दलको ओत लाग्न आवश्यक थियो । सत्ता गठवन्धनका हिसाबले कांग्रेसका सभापति शेरबहादुर देउवालाई अठ्याउन प्रचण्डलाई सबैभन्दा सजिलो थियो ।
भूगोलका हिसाबले पनि भरतपुर महानगरमा कांग्रेस बलियो भएको र सत्ताको चाबीसमेत देउवालाई बुझाउने दिन नजिक आइरहेका बेला प्रचण्डले देउवालाई जालभित्र पासोमा हाले । प्रचण्डलाई खुसी पार्ने नाममा देउवाले पनि पार्टीभित्र कुनै पनि सरसल्लाह नगरी रेणु दाहाललाई मेयरमा कांग्रेसले समर्थन गर्ने निर्णय गराइदिए । उम्मेदवारी दर्ता गर्ने दिनमा बल्लतल्ल टिकट लिएर हेलिकोप्टर रिर्जभ गरी चितवन आएका मेयरका कांग्रेसी उम्मेदवार दिनेश कोइराला देउवा र प्रचण्डको जाँतोमा घुनसरी पिसिए । एक दिन अविर र खादामा पोतिएका कोइरालालाई भोलिपल्ट त्यो अबीर पखाल्न हम्मेहम्मे पर्यो ।
बिहानसम्म माओवादीसँग कुनै पनि हालतमा गठवन्धन नहुने भनेर कार्यकर्ता आश्वासन पार्न लागेका दिनेश कोइराला र सांसद रामकृष्ण घिमिरेहरुलाई त्यसको केहीबेरमा ठूलै भोल्टको देउवा करेन्ट लाग्यो । केही समय विक्षिप्त बनेका कोइरालालाई प्रचण्ड कामरेडले विभिन्न आश्वासन दिएर फकाए । र, सामान्य अवस्थामा फर्काए । कांग्रेस पार्टीभित्र बिद्रोहका आवाज उठे । त्यसलाई मिलाउन वा थम्थम्याउन र चुनावी प्रयोजनका लागि माओवादीबाट जिल्ला नेताले रकम समेत लिएको चर्चा कांग्रेस वृत्तमा छ । तर, यसको पुष्टि हुन सकेको छैन ।
देउवा र प्रचण्डको कोपभाजनमा दिनेश कोइराला
रेणु दाहालका कारण पहिलो शिकार माओवादी केन्द्रका जिल्ला नेताहरु भए भने दोस्रो सिकार दिनेश कोइराला भए ।
अब एउटा प्रश्न उठ्छ- के रेणु दाहाल प्रचण्डपुत्री नभएको भए वा भरतपुर महानगरमा माओवादी केन्द्रबाट अर्को व्यक्ति उम्मेदवार भएको भए उसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देउवालाई गलाउन र दिनेश कोइरालालाई सिकार बनाउन लाग्थे होलान् ? अन्य व्यक्ति भएका भए देउवा पार्टीको हैसियत नै बिर्सिएर माओवादीसँग समान हैसियतमा महानगरपालिकामा गठवन्धन गराउन तयार बन्दथे होलान् ? माओवादी केन्द्र र कांग्रेसको समान हैसियत राष्ट्रिय राजनीतिमा छ ?
माओवादीले समर्थन गरेको कांग्रेस पोखरा लेखनाथ महानगरमा नराम्रो तरिकाले हार्यो, यसको जिम्मा कसले लिन्छ ? कांग्रेसजनले देउवासँग प्रश्न गर्न सक्छन् ?
प्रचण्डपुत्री रेणु दाहालले जतिसुकै पार्टी योगदान गरेको बताए पनि उनका लागि गिरिजाले सुजाता शैलीमा देखाएको पुत्रीमोहभन्दा एक रत्तिभर पनि फरक छैन प्रचण्डको छोरी प्रेम । एउटै पार्टीमा भए पनि, जतिसुकै पार्टीमा योगदान गरे पनि प्रचण्डका लागि ती व्यक्ति छोरीसरह हुन सक्दैनन् ।
प्रचण्डले कांग्रेससँग गठवन्धन मात्रै गरेनन्, छोरीलाई जिताउनका लागि भन्दै कांग्रेस सभापति देउवालाई भरतपुरमा ल्याएर आमसभामा बोल्न लगाए । भावी प्रधानमन्त्रीका रुपमा मञ्चमा उभ्याए । सत्ताका लोभी देउवा प्रचण्डले भावी प्रधानमन्त्री भन्दा मञ्चमा मच्चिँदै उठेको दृश्य हामिक चोकमा हेर्न लायकको थियो ।
अब फेरि प्रश्न उठ्छ- भरतपुर महानगरमा पुत्री रेणु दाहालबाहेक अन्य कोही माओवादीबाट मेयरको उम्मेदवार बनेको भए प्रचण्ड देउवालाई लिएर चितवन आउँथे त ?
प्रचण्ड र देउवाले भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको जितलाई जसरी प्रतिष्ठाको विषय बनाए, त्यसैगरी एमाले अध्यक्ष केपी ओलीले पनि प्रतिष्ठाको विषय बनाए । प्रचण्ड र देउवा चितवन आउने कार्यक्रम भएकै दिन १ घण्टा अगाडि भरतपुर ओर्लिएर ओली पनि गर्जिए ।
उत्तेजित जितनारायण र निरीह बद्री !
कांग्रेस र माओवादीले मतपत्र च्यातिएको भोलिपल्ट बिहानै करीव १५ मिनेटको फरकमा अलग-अलग विज्ञप्ति जारी गरे । आफ्नै आँखा अगाडि मतपत्र च्यातिएको देखेका कांग्रेस सभापति जितनारायण श्रेष्ठले तथ्यलाई लुकाउँदै पुनः निर्वाचन गराउन माग गर्दै विज्ञप्ति निकाले ।
जिल्लाको प्रहरी प्रमुखले समेत माओवादी कार्यकर्ताले मतपत्र च्यातेको साविति वयान दिइरहँदा आफ्ना आँखा अगाडि मतपत्र च्यातेको कसले हो भन्ने पत्तो नपाएका जितनारायणको दृष्टिक्षमतालाई चितवनका जनताले कुन रुपमा बुझ्ने ?
चितवनका नगरपालिकाहरुमा मेयरविहीन बनेको कांग्रेसको पीडा आफ्नै ठाँउमा होला । तर, रेणुलाई कांग्रेसले बोक्दा पनि जिताउन नसक्ने सभ्भावित भयले उसलाई भित्रभित्रै पिरोलेको छ । मतगणनास्थलमा माओवादीभन्दा बढी उत्तेजित भएर प्रस्तुत हुनुको कारण पनि यही होला सायद ।
कांग्रेसले भरतपुर महानगरको मेयर पदमा मात्रै माओवादीलाई सर्मपित गरेको हो या पार्टीको निष्ठा, इमान्दारिता र लोकतन्त्र नै साटेको त हो ?
यस्तै अर्का पात्र हुन बद्री तिमिल्सिना । राप्रपाका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना जिल्लामा हुने हरेक राजनीतिक कार्यक्रममा चर्का भाषण गर्ने र ताली खाने व्यक्ति हुन् । उनी तालीका लागि नै चर्का र उल्का कुराहरु गर्दछन् । तर, यो घटनामा उनी मौन छन् ।
नयाँ शक्ति नेपालसहितका साना राजनीतिक दलहरुले पुनःमतगणना कार्य सुचारु गर्न माग गरिरहेका बेला यी राप्रपाका मेयरका समेत उम्मेदवार रहेका बद्री निरीह बनेका छन् । राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाउने यस घटनाका विषयमा राप्रपाको धारणा के हो ? जनताले जान्न चाहेका छन् ।
लोकतन्त्र र आवधिक निर्वाचनको मर्म र उद्देश्यको ढाड नै भाँच्ने गरी भएको यो अपराध क्षम्य छैन । यसले गलत खालको संस्कारको विकास गर्ने छ भने खराब प्रवृतिहरुलाई प्रोत्साहन गर्नेछ । पुनःमतदान भए भोलिका दिनमा अन्य स्थानमा के होला भन्ने अवस्थाको परिकल्पना गरौं । कोही मर्यो भन्नु भन्दा पनि काल पल्किन्छ कि भन्ने चिन्ता गर्नुपर्ने अवस्था आएको छ ।-अनलाइनखबर