काठमाडौं। सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक मंगलबार संसदमा दर्ता गरेको छ ।

राष्ट्रपति/उपराष्ट्रपतिलाई सरकारको तजबिजी निर्णयका आधारमा उपलब्ध गराउँदै आएको सेवासुविधालाई पारदर्शी बनाउन ऐन बनाउन खोजिएको हो ।

राष्ट्राध्यक्षको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० र उपराष्ट्रपतिका लागि १ लाख ८ हजार ३० प्रस्ताव गरिएको विधेयकमा दुवै पदाधिकारीका लागि अन्य थुप्रै सेवासुविधा प्रस्तावित छन् ।

सरकारी आवास सुविधा पाउने देशका सर्वोच्च पदाधिकारीले सवारीसाधन, आवश्यक पर्ने जति इन्धन, मोबिल र मर्मत खर्च सरकारले व्यहोर्ने छ ।

दुवै पदाधिकारीले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाउने चाडपर्वका लागि प्रत्येक वर्ष एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च पाउनेछन् ।

राष्ट्रपतिले प्रत्येक वर्ष २५ हजार रुपैयाँ र उपराष्ट्रपतिले २० हजार रुपैयाँ पोसाकभत्ता पाउनेछन् ।

विधेयकअनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिले ओहोदासम्बन्धी कामको सिलसिलामा गर्ने स्वदेश तथा विदेश भ्रमणको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने छ ।

यस्तो भ्रमणका बेला उनीहरूले २५ लाख रुपैयाँ बराबरको बिमा सुविधा पाउनेछन् ।

मासिक पारिश्रमिक र अन्य सेवासुविधामा फरक भए पनि राष्ट्रपतिरउपराष्ट्रपति दुवैलाई दैनिक भ्रमणभत्ता भने बराबरी प्रस्तावित छ ।

उनीहरूले स्वदेशभित्र दैनिक तीन हजार तीन सय र विदेश भ्रमणमा २५० अमेरिकी डलर भत्ता पाउनेछन् । विदेश भ्रमणमा पनि अमेरिका र युरोपका तोकिएका देशहरूका लागि थप ३३ प्रतिशत दैनिक भत्ता पाउनेछन् ।

यस्तो हुनेछ राष्ट्रपति/उपराष्ट्रपतिको सुविधा

-मासिक पारिश्रमिक : राष्ट्रपतिलाई १ लाख ५० हजार ४ सय ५० र उपराष्ट्रपतिको १ लाख ८ हजार ३०
-सरकारी आवास, गाडी र चाहिएजति इन्धन तथा मर्मत खर्च
-मासिक पारिश्रमिक बराबर अतिथि सत्कार र भैपरी खर्च
-एक महिनाको पारिश्रमिक बराबर वर्षको एकपटक चाडपर्व खर्च
-एक/एक निजी चिकित्सक
-स्वदेशरविदेशको अस्पतालमा लाग्नेजति उपचार खर्च
-बिरामी पर्दा तीनजनासम्म कुरुवाको मनासिव खर्च
-विदेश भ्रमण गर्दाको सम्पूर्ण खर्च
-सरकारले तोकेजति विज्ञ
-स्वकीय सविचालयमा राष्ट्रपतिलाई १८ र उपराष्ट्रपतिलाई १२ कर्मचारी

संवैधानिक राष्ट्रपतिको स्वकीय सचिवालयमा डेढ दर्जन र उपराष्ट्रपतिको निजी सचिवालयमा विशिष्ट श्रेणीका सहित एक दर्जन कर्मचारीको सुविधा प्रस्तावित छ ।

राष्ट्रपतिलाई विशिष्ट श्रेणी र प्रथम श्रेणीसरहको १/१, द्वितीय श्रेणीसरहको २, तृतीय श्रेणी सरहको ४, कम्प्युटर सहायक, फोटोग्रोफर १/१ र कार्यालय सहयोगी तथा सवारी चालक ४/४ को स्वकीय सचिवालय प्रस्तावित छ । -कान्तिपुर दैनिकबाट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!