धनकुटा, ३ असोज । संबिधान दिवसको अवसर पारेर धनकुटामा सरसफाई र बृक्षारोपण गरिएको छ । नेपालको संविधान २०७२ जारी भएको दिनको अवसरमा धनकुटा नगरपालिकाको अगुवाईमा वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
धनकुटा बसपार्कमा नवनिर्मित फूलबारी तथा धनकुटा–७ स्थित रमाइलो घुम्तीमा वृक्षारोपण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राई लगायत जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, सञ्चारकर्मी लगायतले वृक्षारोपण गरेका थिए ।
स्वमी, एभोकाडो लगायतका विरुवा रोपिएको हो । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा पाँच हजार बढि विरुवा रोपिएको धनकुटा नगरपालिकाका वातावरण अधिकृत उपेन्द्र खनालले जानकारी दिए । नगरका विभिन्न स्थानमा आकर्षक फूलबारी पनि निर्माण भइरहेको छ ।
यसैगरी नेपाल प्रहरी, शसस्त्र प्रहरीसहित नगरबासीले बजारका विभिन्न स्थानको सरसफाई गरेका छन् । तीन दिनसम्म वृहत रुपमा संविधान दिवस मनाईने जिल्ला समन्वय अधिकारी तीर्थप्रसाद धितालले बताए ।