धनकुटा, २७ साउन । धनकुटाकी पत्रकार कोकिला भण्डारीलाई यस वर्षको ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
सामुदायिक बन सम्बन्धि समाचार प्रकाशन गरि सामुदायिक बनको बिकासमा योगदान पुर्याएको भन्दै भण्डारीलाई पुरस्कृत गरिएको हो । राजधानीमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बन तथा वातावरण मन्त्रि शक्तिबहादुर बस्नेतले भण्डारीलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरे ।
बन तथा वातावरण मन्त्रालयले प्रदान गर्दै आएको यो पुरस्कार कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक अब्दुल्लाह मियाँलाईसमेत प्रदान गरिएको हो । २०६५ सालमा स्थानीय पत्रिका हाम्रो नयाँ नेपाल बिचार साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी भण्डारी त्यसपछि पत्रकारितामा निश्क्रिय थिईन् ।
तीन बर्ष अघिबाट भने उनी पुनः पत्रकारिता क्षेत्रमा सक्रिय बनेकी हुन् । गोरखापत्र दैनिकको धनकुटा समाचारदाता रहेकी भण्डारी संगालोखबर अनलाइनकी बजार ब्यवस्थापकसमेत हुन् ।