धनकुटा, २१ साउन । धनकुटामा तीन दिनसम्म बिभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने भएको छ । युवाको क्षेत्रमा काम गर्ने जिल्लाका विभिन्न निकायको संयुुक्त पहलमा युवा दिवस बिशेष कार्यक्रम गर्न लागिएको हो ।
अगष्ट १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस नेपाली पात्रो अनुसार यस वर्ष साउन २७ गते परेको छ । दिवसको अवसरमा साउन २५ गते रक्तदान कार्यक्रम र विपद व्यवस्थापनमा युवाको भूमिका विषयक तालिम गरिदैछ ।
२६ गते संसदिय व्यवस्था अभ्याससम्बन्धी तालिम तथा चित्रकला र हस्तकला प्रदर्शनी गर्ने कार्यक्रम छ । त्यस्तै २७ गते बजारमा प्रभातफेरि आयोजना गरिएको जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङले जानकारी दिए । कार्यक्रम सफल पार्न छाराहाङको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
यस्तो छ अन्तर्राष्ट्रिय युवा दिवसको इतिहास
अन्तर्राष्ट्रिय युवा दिवस सन् २००० देखि विश्वभरका राष्ट्रहरुले उत्सवका रुपमा मनाउँदै आइरहेका छन । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरुलाई स्थापित गर्न सन् १९९९ देखि प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा घोषणा गरेको थियो ।
युवाका सवालहरुमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारुक गर्न यो दिवसको घोषणा गरिएको हो । नेपालमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा ०६८ को जनगणना अनुसार १६ देखि ४० वर्षका युवा वर्गको संख्या ४० दशमलव ३५ प्रतिशत छ । त्यसैगरी १६ देखि ३५ वर्षका युवा समूह ३४ दशमलव ३६ प्रतिशत छन् भने १५ देखि २९ वर्षका युवा २७ दशमलव ८ प्रतिशत र १५ वर्ष मूनिको जनसंख्या झण्डै ३४ दशमलव ८ प्रतिशत छ ।
राष्ट्रिय युवा नीति ०६६ को कार्यान्वयनका लागि युथ भिजन २०२५ निर्माण हुनु, राष्ट्रिय युवा परिषद गठनको विधयक संसदबाट पास हुनु युवाहरुले सुखद मानेका छन् । तर, अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा सार्थक सहभागिता सुनिश्चित हुन सकिरहेको छैन । देशले प्राकृतिक विपदको सामना गरिरहँदा आम युवाहरु उदार, राहत र पुननिर्माणमा सहभागी हुँदै आएका छन् ।