विराटनगर, १५ साउन । प्रदेश १ मा बलात्कारका घटना बढेको तथ्यांकहरुले देखाएको छ । १४ जिल्ला रहेको प्रदेश १ मा दैनिक १ भन्दा बढी महिला बलात्कारको शिकार हुने गरेको तथ्य बाहिरिएको छ ।
प्रदेश १ प्रहरी कार्यालय, विराटनगरका अनुसार पछिल्ला तीन वर्षको १ हजार २९ जना बलात्कारको शिकार भएका छन् । बलात्कृत हुनेमा ७ वर्षकी बालिकादेखि ६२ वर्षीया वृद्धासम्म छन् । बलात्कारको शिकार सबैभन्दा बढी किशोरी भएका छन् ।
३ वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष (आ.व.) ०७४/०७५ मा ३ सय ८४ वटा बलात्कारको घटना भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
यो संख्याले प्रदेश १ अन्तर्गतका १४ जिल्लामा दैनिक १ भन्दा बढी बलात्कारको घटना हुने गरेको देखिन्छ । मोरङ जिल्लामा मात्र यो वर्ष १ सय ३ वटा बलात्कारको घटना भएका छन् ।
साविकको पुर्वाञ्चलअन्तर्गत १६ वटा जिल्ला कायम भएको आ.व. ०७३–०७४ मा ३ सय ५१ बलात्कारको घटना भएका छन भने ०७२–०७३ मा कुल २ सय ९४ बलात्कारका घटना भएका छन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आ.व. ०७४–०७५ मा कुल ३ सय ८४ बलात्कारको घटना भएकोमा सबैभन्दा बढी जेठमा ६१ घटना भएका छन् । प्रदेश १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डआईजी) केदार रिजाल बलात्कार घटनामा उजुरी दिने क्रम बढेको बताउँछन् ।
उनले गाउँ घरमा हुने यस्ता जघन्य अपराधका घटना समाजमा मिलाउने कार्य अहिले शून्यमा आएको जानकारी दिए ।