धनकुटा, ९ साउन । प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले विकास निर्माण तथा समृद्धिको काममा कुनै कञ्जुस्याँई नगरी जनताका लागि परिणाममूखी काम गर्ने बताएका छन् । धनकुटामा बुधबार आयोजित प्रतिनिधि सभा सदस्य धनकुटा निर्वाचन क्षेत्र जनसम्र्पक कार्यक्रम, विकास निर्माण तथा जनसरोकारका सवालहरु विषयक कार्यक्रममा बोल्दै सांसद राईले यस्तो बताएका हुन् ।
कतिपयले बजेट प्रति असन्तुष्टि ब्यक्त गरेपनि सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम समय सान्दर्भिक भएकाले अव छिट्टै देश विकास हुने राईले बताए । नेकपाका नेतासमेत रहेका राईले ५ वर्ष भित्र ५ लाखलाई रोजगारि दिने बजेट आएको, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा विकासको काम सुरुवात भएको उल्लेख गरे ।
१५ सैयाको धनकुटा जिल्ला अस्पताल ५० सैयाको किर्ते रुपमा प्रमाणित गरिएको प्रति समिक्षा गर्नु जरुरी रहेको भन्दै राईले अव जिल्ला अस्पतालको विकासका लागि आवश्यक प्रक्रिया अघि बढेकोसमेत जानकारी दिए । तमोर करिडोर, कोशी करिडोर, मध्य पहाडी लोक मार्ग लगायत निर्माण भईरहेको प्रसंग जोड्दै सांसद राईले विकास निर्माणका काममा जनता निरास हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारे ।
धनकुटामा निजामति विद्यालयको विकासकालागि ३ करोड र विश्रान्ति मन्दिरका लागि एक करोड बजेट बिनियोजन भएको जानकारी दिए । यस्तै पर्यटन क्षेत्रमा आठपहरीया जातिको संस्कृति जर्गेना गर्न संग्राहलय बनाउने, याक्चानाघाट, सहिदभूमि, साँगुरीगढी, पाख्रीवास लगायत स्थानमा पुल निर्माण, कृषि विश्वविद्यालय लगायतका काम पनि चाडै हुने बताए । धनकुटालाई प्रादेशिक राजधानी बनाउँन अव अन्तिम पटक लड्ने उद्घोषसमेत राईले गरेका छन् ।
नेस्नल डेमोक्रेटिस इन्टिच्यूट काठमाडौले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले विभिन्न क्षेत्रसँग सम्वन्धित माग राखेका छन् । कार्यक्रममा सहभागीहरुले विकास निर्माण, उद्यम, कृषि, शिक्षा, स्वास्थ्य, युवा रोजगार, जेष्ठ नागरिक, बालबालिका, जातजातिको संरक्षण, सुकुम्वासी समस्या, साँस्कृतिक जर्गेना लगायतका विषयमा माग राखेका हुन् ।