विराटनगर, ९ साउन । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको स्तरोन्नति सुधार गर्न ठूलो चुनौती रहेको बताए ।

Advertisement

पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देनालय धनकुटाद्वारा यहाँ आज आयोजित आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति समीक्षा तथा शिक्षक दरबन्दी मिलान कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।

मन्त्री घिमिरेले राजनीतिक संक्रमणको सबैभन्दा बढी सिकार सामुदायिक विद्यालय भएकाले यसलाई पुनःजीवन दिनुपर्ने भन्दै सामुदायिक विद्यालय फरक वर्गका मानिसका लागि मात्र हो भन्ने मानसिकता हटाउनुपर्छ भने ।

उनले विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाउन शिक्षक सरुवा, बढुवा तथा दरबन्दी मिलानमा राजनीतिक हस्तक्षेप हट्नुपर्छ भने ।

उद्धार सामग्री हस्तान्तरण

यसैगरी सुनौलो बिहानी इन्टरनेशनल नेपालले बाढी र डुबानका बेला उद्धार कार्यमा प्रयोग हुने सामग्री जिल्ला दैविक प्रकोप उद्धार समिति मोरङलाई आज हस्तान्तरण गरेको छ ।

एडिएच जर्मनसँगको सहकार्यमा करीब रु छ लाख मूल्य पर्ने बोट र त्यससँग सम्बन्धित उद्धार सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई सुनौलो बिहानी बाह्य सम्पर्क विशेषज्ञ ममिन घलेले एउटा रबर बोट, लाइफ ज्याकेट, उद्धार कार्यमा प्रयोग गरिने डोरी, थ्रो ब्याग, हाते माइकलगायतका सामग्री उपलब्ध गराएका हुन ।

मोरङ जिल्लामा बक्राहा, बूढी खोला, चिस्याङ र रतुवा खोलामा आउने बाढीले वर्षेनी डुबानबाट मानिसको मृत्युसमेत हुने गरेकाले उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले रबर बोट उपलब्ध गराइएको घलेले जानकारी दिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उपलब्ध उद्धार सामग्रीले विपत्मा परेका मानिसलाई उद्धार गर्न निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!