- सन्तोष रुचाल/संगालोखबर

धनकुटा, ८ साउन । दुवै मृगौला फेल भएर उपचाररत धनकुटाको पाख्रीवास नगरपालिका–२ सान्नेका चुणामणी पुलामी मगरलाई तत्कालिन नेकपा एमाले निकट युवा संघ नेपाल धनकुटाले आर्थिक सहयोग गरेको छ ।

चार महिना अघिदेखि मृगौला पीडित भई काठमाडौंस्थित ग्रीन सिटी अस्पतालमा डाइलासिस गराई रहेका ३४ वर्षीय मगरको मृगौला प्रत्यारोपणका लागि युवा संघले ८३ हजार २ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

युवा संघ धनकुटा जिल्ला सदस्यसमेत रहेका मृगौला पीडित मगरलाई अस्पतालमा नै गएर प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले रकम हस्तान्तरण गरेका हुन् ।

हप्तामा दुई पटक डाइलासिस गराउँदै आएका मगरको दुवै मृगौला प्रत्यारोपणको लागि करिब २० लाखको रकम आवश्यक रहेको बताईएको छ । तर, तत्कालका लागि एउटा मात्र मृगौला प्रत्यारोपणको तयारी गरिएको विरामीका भाई भुपेन्द्र पुलामी मगरले बताए ।

उनले भने–‘मृगौला प्रत्यारोपणका लागि हालसम्म ५ लाख रकम संकलन भईसकेको छ भने बाँकी रकम संकलन हुने क्रम जारी छ ।’ एउटा मात्र मृगौला प्रत्यारोपण गर्न करिब ८ लाख रकम लाग्ने चिकित्सकले बताएका छन् ।

सहयोग संकलन जारी

यता युवा संघ धनकुटाले मगरको उपचारार्थ आर्थिक सहयोग संकलन अभियानलाई जारी राखेको छ । संगठनको तर्फबाट सक्दो सहयोगका लागि आर्थिक संकलन अभियान जारी राखिएको युवा संघका जिल्ला कोषाध्यक्ष एवम् आर्थिक सहयोग समिति संयोजक मनोज राईले जानकारी दिए ।

मृगौलापीडित मगरलाई देश तथा बिदेशमा रहेका नेपालीले पनि आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर रहेका मगरको उपचारमा हालसम्म करिब ६ लाख खर्च भई सकेको परिवारले जनाएको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले सहयोगका लागि मृगौला पीडितका भाई भुपेन्द्रले अपिल गरेका छन् । मृगौलापीडित चुणामणीका एक छोरी र श्रीमति छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!