नाम्जे(धनकुटा), १ साउन । धनकुटा साँगुरीगढी–६ नाम्जेमा प्रायः हरेक बेलुका ‘नाम्जे गाउँमा हौ पाहुना आउँदा, घाम लाग्यो घमाइलो देशै रमाइलो…’ बोलको गीत गुन्जिन्छ । मगर जातीको यो ‘हुर्रा’ गीत र नृत्य यहाँ आउने पाहुनाको स्वागतमा गाइन्छ ।
मगर समुदायले सञ्चालन गरेको ‘होमस्टे’मा सधैं आउने पाहुनालाई आफूसँगै हुर्रामा नचाएर रमाइलो गराइन्छ । ‘पाहुना नियमित हुने भएकाले दैनिक जसो बेलुका हुर्रा नाचिन्छ’ स्थानीय देवीकुमारी मगर भन्छिन् । होमस्टेमा बस्न आउनेको मागअनुसार प्रदर्शन गरिने हुर्राका लागि पाहुनाले दुई हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । तर, पाहुनाले खुसी भएर २५ हजारसम्म दिएका छन् ।
पञ्चकन्या आमा समूहले सञ्चालन गर्ने हुर्रामा पुरुषहरूले पनि साथ दिन्छन् । आमा समूहकी कोषाध्यक्ष दिलमाया मगर भन्छिन्– ‘हुर्रामा सहभागी नहुने सदस्यलाई एक सय रुपैयाँ जरिवाना गरिने भएकाले सबैको उपस्थिति हुन्छ ।’ यसरी हुर्राबाट संकलित रकमले आमा समूहले खरिद गरेको जमिनमा सामुदायिक भवन बन्दैछ । दिलमायाका अनुसार, हुर्राबाट संकलित ३ लाख २० हजार जमिन र भवनमा खर्च भइसकेको छ भने बैंक खातामा ३ लाख मौज्दात छ ।
नाम्जेमा ५० वर्ष अघिसम्म मारुनी नाचिन्थ्यो । यहाँका मगर समुदायले आÏनो जातीय नृत्य हुर्रा जानेकै थिएनन् । देउसी, भैलोमा नाच्न स्थानीय जगतबहादुर मगर र वीरबहादुर मगर १८ वर्षे ठिटो हुँदा धनकुटाकै मुढेबास पुगेर हुर्रा सिकेका थिए । ‘दुई भाइले हुर्रा सिकेर आएपछि गाउँका तन्नेरी, तरुनीलाई सिकायौं’ जगतबहादुरले भने– ‘गाउँमा हुर्रा सबैले रुचाए ।’
हुर्रा स्थापित भएपछि मारुनी नाम्जेबाट हरायो । एकले अर्काको हात समाएर एकै स्वरमा गाउँदै खुट्टाको चाल मिलाएर युवायुवतीसँगै नाच्ने भएकाले गाउँमा हुर्रामा सबै आकर्षित हुन थाले । हुर्रा नाचमा पुरुषले खाँडीबाट बनेको ‘घल्याङ’ (दुबै काँधबाट पछाडि तेर्सो पारेर बाँध्ने पहिरन) लगाउँछन् भने महिलाले गुन्यु–चोली र मखमलीको घल्याङ लगाउँछन् ।
तिहारको औंसीदेखि पूर्णिमासम्म गाउँ घुमेर नाच्ने र दानबाट उठेको रकम समाजका लागि प्रयोग गर्दै आएका यहाँका मगर जातीले अहिले होमस्टेमा बस्न आउने देशी, विदेशी पाहुनाको स्वागतमा नाच्ने गर्छन् ।
भेडेटारबाट साढे ३ किलोमिटर पूर्वमा रहेको नाम्जे र थुम्की गाउँ हिजोआज पाहुनाले भरिभराउ हुन्छ । अमेरिकी समाचार एजेन्सी सिएनएनले विश्वका १२ सर्वश्रेष्ठ अनौठो स्थलहरूमध्ये ८ औं नम्बरमा नाम उल्लेख गरेर २०६८ मा समाचार सार्वजनिक गरेपछि छिमेकी जिल्लामा समेत नचिनिएको नाम्जे एकाएक विश्व चर्चित भयो ।
‘नाम्जेको नाम निकै चल्यो’, स्थानीय गुञ्जमान मगरका अनुसार, २०५८ सालमा अमेरिकी नागरिक राजीवकुमार गोयल स्वयंसेवक बनेर आएपछि नाम्जेको भाग्य खुलेको हो । गोयलले दुई वर्ष स्थानीय विद्यालयमा पढाए । त्यसपछि पनि उनी आउने–जाने गरिरहे । गोयलले २०६८ मा विभिन्न देशका २४ जना मानिस लिएर आएका थिए । उनका अनुसार ती मानिसले ११३ वटा चिहान खनेर आत्माघर पनि बनाए ।
सो समूहमा दुई जना विदेशी पत्रकार पनि थिए । उनीहरू मगरका पुराना घर, देवताका थान, धामी नाच हेर्थे र टिपोट गर्थे । दुई महिनापछि बिभिन्न पत्रपत्रिकामा विश्वका १२ अनौंठो स्थलहरूमध्ये ८ नम्बरमा नाम्जेको नाम राखेर सार्वजनिक भयो । समाचारले गर्दा पर्यटक आउन थालेपछि होमस्टे दर्ता गरियो । अहिले नाम्जेमा १३ र थुम्की गाउँमा ९ गरी २२ वटा मगरका घरमा होमस्टे सञ्चालित छ ।
नाम्जे थुम्की सामुदायिक होमस्टे समितिका सचिव तथा स्थानीय विद्यालयका शिक्षक तुफानकुमार मगर होमस्टेमा वर्षभरि नै पाहुना आउने गरेको बताउँछन् । यहाँ बाह्रै महिना चिसो हुने भएकाले तराईका पर्यटक बास बस्ने गरी पुग्छन् । गर्मीमा हुस्सु, चिसो बतास र छिनछिनमा पर्ने पानीका कारण तराईका मानिस नाम्जेमा आकर्षित हुन्छन् ।
होमस्टेमा बसेपछि घरमा पाकेको खाने कुरा पाहुनाले खानुपर्ने र मागेर खान नपाइने नियम छ । थोरै रकम तिरेर स्वागत सम्मानसहित पाहुनालाई खान र बास दिइने गरिएकाले नजिकैका होटलहरूमा बास बस्ने मानिस कम हुन थालेका छन् । नाम्जेका होटलहरूमा बास बस्ने मानिस होमस्टेमा भन्दा कम हुन्छन् ।
नाम्जेमा मगर समुदायले सामुदायिक भवनसमेत निर्माण गर्दैछन् । हुर्रा नाचका लागि ठूलो हलसहितको दुई तले भवन निर्माण हुँदैछ । यहाँ ४ सय परिवार मगर समुदायको बसोबास छ ।
समितिका अध्यक्ष अनिल मगरका अनुसार, बिभिन्न सरकारी निकायले दिएको २७ लाख र स्थानीयले संकलन गरेको १० लाख रुपैया“ भवनमा खर्च भइसकेको छ । अब ५० लाख रुपैयाँ भए जनजातीको मिनी म्युजियमसहितको सामुदायिक भवन तयार हुने उनी बताउँछन् ।