
सुनसरी, २६ असार । पहाडी जिल्लाहरुमा बर्षात शुरु भएपछि कोशी नदीमा पानीको बहाव घट्ने बढ्ने क्रम शुरु भएको छ । तर बहाव बढेपछि मापन गर्ने सयंन्त्र चुस्त दुरुस्त नहुँदा समस्या हुने गरेको छ । कति पानी हुँदा कोशीमा खतरा बढ्ने र खतरा मुक्त हुने भन्ने बिषयको मापन ब्यारेजलाई मात्र आधार मान्दा गतल हुने विज्ञहरुको निष्कर्ष छ ।
कोशी ब्यारेज भन्दा पनि महत्वपूर्ण बराहक्षेत्रको मापनले मात्र कोशी नदीमा कतिको खतरा छ भन्ने यकिन बिवरण दिने जानकारहरु बताउछन । प्रायः सुरक्षा निकायले कोशी ब्यारेजको मापनलाई आधार मानेर जोखिमको अनुमान गर्ने गरिएको छ । तर जोखिमको मापन बराक्षेत्रको बहावले गर्ने भएकाले जोखिमको पूर्ण विवरण यसैबाट लिन सक्ने स्थानीय एवम रेडक्रमकर्मी रबीन घिमिरे बताउछन ।
बराहक्षेत्रको मापनमा कोशी नदीमा ५.६० मिटर कटेपछि चेतावनीको रुपमा लिइन्छ भने ६.८० कटेपछि मात्र खतराको रुपमा कोशीलाई लिनुपर्छ । अहिले कोशीमा अधिकतम ४.३२ मिटर पानी रहेको छ । पानीको बहावको मापन नेपाली र भारतीय दुवै पक्षले गर्ने गरेका छन ।
जसमा भारतीय पक्षले दुई दुई घण्टामा रेकर्ड राख्ने गरेको छ भने नेपाल पक्षले ४ घण्टामा एक पटक तर नेपाली पक्षले गर्ने पानीको मापन बेला बेला गलत भएर चेतावनीको साईरन बज्ने र रातो झण्डा राख्ने गरिन्छ । कोशी ब्यारेजस्थित कन्ट्रोल रुमका अनुसार निर्माण ताका ६४ बर्ष अघि १२ लाख क्यूसेक पानी नियन्त्रण गर्ने क्षमताको कोसी ब्यारेजमा बालुवा भरिएको कारण नदीको सतह माथि आएकाले अहिले ६ लाख क्युसेक भारमात्र बहन गर्ने प्राविधिकहरु बताउँछन् ।
कोशीमा आएको बाढी कति मापन गरिएको छ भन्ने कुराको जानकारी नपाउदा सबै भन्दा पिरलो कोशी आसपासका स्थानीयहरुमा छ । मापन सहि नगर्दासमाचारमा अनेकन कुरा आउदा कोशी आसपासका स्थानीयवासी रात परेपछि त्रसित हुने गरेको बताउछन् ।
प्रकाशपुर प्रहरी चौकी र जिल्ला प्रशासन कार्यालय सुनसरीमा राखिएको डिजिटल डिस्प्ले बर्षात हुने महिनादेखि अपडेट गर्नु पर्ने हुन्छ । तर डिस्प्ले बिग्रिएको बषौ भईसकेको छ ।















