काठमाडौँ, २५ असार । निजी नर्सिङ शिक्षण संस्थाको दवावमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले नर्सिङ शिक्षाको शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको छ । नर्सिङ विषय अध्ययन गर्ने संस्थाले भर्ना खोलिसकेको अवस्थामा मन्त्री पोखरेलले शुल्क वृद्धी गर्ने तयारी गर्नुभएको हो ।

Advertisement

सरकारद्धारा गठित प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद अन्तर्गत संचालित कार्यक्रमको शुल्क निर्धारण तथा छात्रवृतीमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समितिले सिफारिस गरेको डेढ महिनासम्म प्रतिवेदन नबुझनुभएका मन्त्री पोखरेलले भर्ना खोले लगत्तै प्रतिवेदन बुझेर शुल्क वृद्धी गर्न लाग्नुभएको हो ।

शिक्षा विभागका निर्देशक दीपक शर्माको संयोजकत्वमा गत बैशाखमा गठित समितिले जेठमा प्रतिवेदन तयार गरेको थियो ।

समितिले पटक पटक आग्रह गर्दा समेत समय नभएको भन्दै वेवास्ता गर्नुभएका मन्त्री पोखरेलले भर्ना खुले लगतै असार १९ गते प्रतिवेदन बुझ्नुभएको थियो । नौ सदस्यीय समितिमा रहेका अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघले विद्यार्थीलाई थप भार पर्ने जनाउदै नोट अफ डिसेन्ट लेखेका थिए ।

संविधानको धारा ३१ को उपधारा २ बमोजिम प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने हक हुनेछ भन्ने उल्लेख गरे अनुसार संविधानको शिक्षा सम्बन्धी भावना र मर्मलाई आत्मसात गर्दै थप शुल्कको भार राज्यले नै बेहोर्नुपर्ने जनाउदै प्रतिवेदनमा नोट अफ डिसेन्ट लेखेका थिए ।

दुवै अभिभावक संघले अहिलेको अवस्थामा शुल्क वृद्धी गर्न नहुने राय दिएका थिए । राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटा र अभिभावक संघ नेपालका पुर्व अध्यक्ष शुप्रभात भण्डारीले भर्ना खुलिसकेको अवस्थामा शुल्क वृद्धी गर्न नहुने बताउनुभएको थियो । मन्त्रालय स्रोतका अनुसार मन्त्री पोखरेलले निजी नर्सिङ संस्थाको दवावमा शुल्क वृद्धी गर्न लागेको आरोप लगाएका छन् ।

अन्तिम समयमा आएर शुल्क वृद्धी गर्नुको आसय आर्थिक चलखेल नै हो–स्रोतले  भन्यो । निजी संचालकले मन्त्रालयमै गएर शुल्क वृद्धी गर्न दवाव दिएका छन् । समितिका एक सदस्यले ढिलो प्रतिवेदन बुझ्नुको आसय शुल्क वृद्धीसंगै आर्थिक चलखेल जोडिएको आरोप लगाए ।

यो वर्षबाट शुल्क वृद्धी भए निजी नर्सिङ संस्थामा अध्ययन गर्ने विद्यार्थीले झण्डै एक लाख रुपिया बढी तिनुपर्छ । समितिले सिफारिस गरे अनुसार नया शुल्क निर्धारण गर्दा विद्यार्थीले ५ लाख ६४ हजार ३ सय रुपिया तिर्नुपर्छ । अहिले ४ लाख ७५ हजार रुपिया छ । ट्रष्ट र सहकारीबाट संचालित नर्सिङ कार्यक्रमको शुल्क घटाएको छ ।

आजको नेपाल समाचारपत्रमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!