संगालोखबर सम्वाददाता

खोटाङ, १८ असार । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले खोटाङको रारा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरबाट १ हजार २ सय ५५ जना बिरामी लाभान्वित भएका छन् ।

Advertisement

प्रदेश नम्बर १ को सामाजिक बिकास मन्त्रालयसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । शिविरमा आँखा रोग, जनरल मेडिसिन, स्त्री रोग, दन्त रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी, छाला रोग लगायतको निःशुल्क उपचार गरिएको छ ।

शिविरमा हाडजोर्नी, दम, रुघाखोकी, आँखामा मासु पलाएको र आङ खस्ने समस्या भएका महिला बढी मात्रामा आएको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

नोबेलका बिषेशज्ञ डाक्टरले शिविरमा आएका बिरामीको स्वास्थ्य परीक्षण गरी उपचार गरेका थिए । नोबेलबाट बिषेशज्ञ डाक्टरसहित २२ जनाको टोली शिविरमा गएको थियो । शिविरमा आएका बिरामीको ईसीजी, ल्यावटेस्ट र भीडियो एक्सरे पनि निःशुल्क गरिएको छ । शिविरमा औषधिसमेत निःशुल्क बितरण गरिएपछि बिरामीहरुले थप राहत मिलेको प्रतिक्रिया दिएका छन् ।

नोबेल अस्पतालले बिपन्न बिरामीलाई लक्षित गरी पूर्वका बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । केहि दिनअघि सिराहा, उदयपुर, धनकुटा लगायत जिल्लामा नोबेलले सञ्चालन गरेको शिविरबाट हजारौं बिपन्न बिरामी लाभान्वित भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!