विराटनगर, १३ असार । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावन मार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको छ ।

Advertisement

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले विराटनगर विमानस्थल हाल एक हजार ५०० मिटर लम्बाइ भएकाले अन्तर्राष्ट्रियस्तरको निर्माणका लागि धावन मार्ग विस्तारका लागि संघीय सरकारलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

यसैगरी, भोजपुर जिल्ला निवासी पत्रकार धु्रव सुवेदीलाई उपसचिव तलब सुविधा प्राप्त गर्ने गरी मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले पठाएको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५, आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको प्रदेश कर तथा गैरकर राजश्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ प्रदेश सभामा पठाउने निर्णय गरेको छ ।

यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई प्रदेश विपद् व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ र प्रदेशसभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ लाई सैद्धान्तिक सहमति प्रदान गरिएको प्रवक्ता मन्त्री कार्कीले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!