संगालोखबर सम्वाददाता

संखुवासभा, ८ असार । पूर्वी नेपालबाट जापान पुगेका नेपालीहरुको संस्था ‘पुर्वी नेपाल विकास सहकार्य केन्द्र’ ले संखुवासभाका मृगौलापीडित सन्देश जिमीलाई आर्थिक सहयोग गरेको छ ।

Advertisement

दुवै मृगौला काम नलाग्ने भई उपचार गराईरहेका धर्मदेवी नगरपालिका–६ होम्बोङका जिमीलाई केन्द्रले ७० हजार संकलन गरी हस्तान्तरण गरेको हो ।

भक्तपुर, निकोसेरास्थित बिरामी जिमीको डेरामा पुगेर संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमले सहयोग रकम हस्तान्तरण गरे । केन्द्रकी प्रतिनिधि राजश्री खालिङ राई, एड्भान्स क्लब काठमाडौका गौरीमान राई र बिमल काफ्लेलगायत संखुवासभाबासी जिमीको अवस्था बुझ्न पुगेका थिए ।

जिमी अढाई महिनादेखि बिरामी छन् । धनकुटामा बीबीएस तेश्रो बर्ष अध्ययनरत २१ बर्षीय जिमीको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणको प्रक्रिया शुरु भएको छ ।

बिरामीको अवस्थाबारे जानकारी पाएपछि आफुहरुले सामाजिक सञ्जालमार्फत सहयोग संकलन अभियान चलाएर रकम जुटाईएको केन्द्रका पेमानुरी शेर्पाले बताए । उपचारमा आर्थिक अभाव भएपछि सहयोगका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत आव्हान गरिएको थियो ।

आर्थिक सहयोग उपलब्ध गराएकोप्रति बिरामीका दाजु बिशेष जिमीले आभार व्यक्त गरे । ‘वहाँहरुको सहयोग र सद्भावले भाईको उपचारमा सहज भएको छ । हाम्रो परिवार वहाँहरुप्रति आभारी छौ ।’, उनले भने ।

सरकारले मृगौला प्रत्यारोपण गर्दा ५ लाख ५० हजार रुपैयाँ बराबरको सहुलियत दिने गरेपनि अन्य खर्च भने आफै गर्नुपर्दछ । मृगौला प्रत्यारोपण गरेका व्यक्तिले औषधि पनि आजीवन खानु पर्ने हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!