संगालोखबर सम्वाददाता

धनकुटा, ६ असार । बिगत पाँच महिनाको अवधिमा धनकुटामा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना दुई गुणाले बढेको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि तयार पारेको प्रतिवेदनमा यस्तो पाईएको हो ।

Advertisement

इन्सेकले आज प्रतिवेदन सार्वजनिक गर्दै २०७४ पुुस १७ गतेदेखि २०७५ जेठ १७ गतेसम्मको अवधीमा ४८ वटा घटना भएको जानकारी दिएको छ । महिला हिंसाका मात्र ३९ वटा घटना भएको इन्सेक प्रतिनिधि सन्तोष रुचालले जानकारी दिए । अघिल्लो वर्षको पाँच महिनामा मानव अधिकार उल्लंघन तथा ज्यादतिका १९ घटना मध्ये १७ जना महिला हिंसाबाट पीडित थिए । तर, यस वर्ष बढेर ३९ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।

पाँच महिनाको अवधीमा धनकुटामा २ जनाको हत्या भएको छ । त्यस्तै बहुविवाहका घटना २ वटा, महिलामाथि बलात्कार १ वटा, बालिकामाथि बलात्कार २ वटा भएको प्रतिवेदनमा उल्लेख छ । पाँच महिनाको अवधीमा जिल्लामा भौतिक संरचना तथा क्षतिका ३ वटा र राज्य पक्षबाट कुटपिटका ३ वटा घटना भएको इन्सेक प्रतिनिधि रुचालले बताए ।

मानव अधिकार उल्लंघनका घटना बढेकोमा चिन्ता

ईन्सेकको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी सरोकारवालाहरुले जिल्लामा मानव अधिकारका घटनामा बृद्धि हुदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टंकबहादुर चुवानले महिला हिंसाको घटना अत्याधिक बृद्धि हुदै गएको प्रति चिन्ता व्यक्त गर्दै न्यूनिकरण गर्न जनचेतना मुलक अभियान चलाउँनुपर्ने बताए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका नेता नैन विश्वकर्माले मानव अधिकारका घटना बढ्नु दुःखद भएको उल्लेख गर्दै यसको न्यूनिकरणमा सम्पूर्ण सरोकारवाला सक्रिय हुनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुख, मानव अधिकारकर्मी, सञ्चारकर्मी लगायत सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!