- संगालोखबर सम्वाददाता

बिराटनगर, ४ असार । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ ।

०७५ जेठ महिनाको अवधिमा स्वास्थ्य शिविर मार्फत २० हजार ४ सय २५ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । जेठ १ देखि ३१ गतेसम्म पूर्वका बिभिन्न जिल्लामा २१ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँ–गाउँका बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

Advertisement

उनका अनुसार मोरङ, झापा, सुनसरी, धनकुटा, संखुवासभा, सप्तरी, उदयपुर लगायत जिल्लामा निःशुल्क शिविर गरिएको छ । धनकुटाको पाख्रीवास, झापाको बनियानी र गौरादहमा आयोजित निःशुल्क शिविरमा बिरामीको अत्याधिक चाप थियो ।

निःशुल्क शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरिएको छ । शिविरमा ल्याव टेष्ट, ईसीजी र भिडियो एक्सरे पनि निःशुल्क उपलब्ध गराईएको छ ।

स्थानीय संघसस्थासँग समन्वय गरेर सञ्चालन गरिदै आएको शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरहरुले बिरामीको उपचार गर्ने गरेका छन् । अधिकांस शिविरमा दम रोगी, आङ खस्ने समस्या भएका महिला, छाला रोगी र हाडजोर्नी सम्बन्धि समस्याका बिरामी बढी मात्रामा आएका थिए ।

उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ‘दुरदराजका गरिव बिरामीलाई लक्षित गरेर नियमित निःशुल्क शिविर सञ्चालन गर्दै आएका छौ ।’ डा.शर्माले भने ‘नोबेललाई नाफामुखी हैन सेवामुखी भावले अघि बढाईरहेका छौ ।’

०७४ सालको अवधिमा नोबेलले पूर्वका ८ जिल्लामा शिविर सञ्चालन गरी ४७ हजार ५ सय ८३ बिरामीको निःशुल्क उपचार गर्नुका साथै अस्पतालबाट ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य बरावरको निःशुल्क उपचार गरिएको थियो । पछिल्लो समय नोबेलले तुलनात्मक रुपमा शिविरको संख्या बढाउँदै लगेपछि लाभान्वित हुँने बिरामीको संख्या पनि ह्वात्तै बढेको हो ।

थप तस्वीरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!