
धनकुटा, १ असार । सहकारीको लाखौं रकम हिनामिना गरी फरार भएका सहयात्री कृषि सहकारी संस्थाका अध्यक्ष तिलक बहादुर यसमालीलाई एक बर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
धनकुटा–७ हुलाकटोलमा रहेको उक्त सहकारीको ५५ लाख भन्दा बढी रकम हिनामिना गरी २०७४ असार ८ गतेबाट फरार रहेका यसमालीलाई धनकुटाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
धनकुटा–७ घर भएका यसमालीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको थियो । यसमालीले सहकारी संस्थाको ५५ लाखसहित अन्य व्यक्ति एवं सस्थाको रकम पनि ठगि गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।
स्थानीय त्रिबेणी माध्यमिक विद्यालयको निमावि स्थाई शिक्षकसमेत रहेका उनी रकम हिनामिनापछि धनकुटाबाहिर बसोवास गर्दै आएको स्रोतले जनाएको छ । घर आएको मौकामा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।
यसमालीलाई पक्राउ गरी घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरी प्रमुख गुरुङले बताएका छन् ।















