धनकुटा, १ असार । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनामा नुहाउने क्रममा माथिबाट झरेको ढुंगाले लागेर आज एक जनाको मृत्यु भएको छ ।
अपरान्ह नुहाउने क्रममा माथिबाट झरेको ढुंगाले लाग्दा सुनसरीको इटहरी–९ का विक्रम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । ढुंगाले लागेर गंभीर घाईते भएका तामाङलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो ।
उनको प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी सहायक निरीक्षक राजकुमार कटेलले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार घटनापछि झरनामा जान अनिश्चतकालका लागि बन्द गरिएको छ ।
मूलघाटस्थित सशस्त्र प्रहरीको दैवीप्रकोप उद्धार टोलीले अनुगमन गरेर झरना सुरक्षित भएको निश्चित भएपछि मात्र गाउँपालिकाको मातहतबाट सञ्चालनमा ल्याइने झरना व्यवस्थापन समिति सदस्य अग्नी लिम्बुले जानकारी दिएका छन् ।
पूर्वको चर्चित पर्यटकीय क्षेत्रको रुपमा स्थापित नमस्ते झरनामा दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।