
धनकुटा, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.सावित्रा थापा गुरुङले शुसासनको प्रत्याभूती दिलाउँदै जवाफदेहि सेवा प्रवाह गर्न स्थानीय तहलाई आग्रह गरेकी छन् ।
धनकुटामा सरोकारवाला निकायको सहभागितामा भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.गुरुङले स्थानीय तहले भ्रष्ट्राचार सुन्य सहनशिलता व्यवहारमा देखाउनुपर्ने बताईन् ।
जिल्लाका सात वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष एवं कार्यालयका प्रमुखहरुलाई सिंहदरबारको अधिकार वडा कार्यालयबाट सेवा प्रवाह हुने भएकाले जनअपेक्षा अनुसार सरकारले तोकेका ऐन, नियम र कार्यविधि पालना गर्न आग्रह गरिन् ।
सबैप्रकारका सेवाप्रदायक कार्यालयमा वडापत्र राख्ने, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने एवं सेवाग्राहि मैत्रि कार्यालयको वातावरण राख्न अनुरोध गरिन् ।
बहुराष्ट्रिय चासोको विषय बनेको भ्रष्टाचार पछिल्लो समय नेपालका जनसरोकारका कार्यालय शिक्षा, स्वास्थ्य, स्थानीय तह र भौतिक निर्माणका कार्यालयका अत्याधिक उजुरी आयोगमा पर्ने गरेका कारण थप सजग हुन आयुक्त गुरुङले निर्देशन दिईन् ।
यस बर्ष धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुममा अख्तियार दुरुपयोग गरेका एक सय २७ उजुरी मध्ये ५१ वटा मात्र बाँकि रहेका छन भने अन्य किनारा लगाईएको अख्तियारले जनाएको छ ।















