काठमाडौँ, १८ जेठ । सरकारले प्रस्तुत गरेको बजेटमाथि बोल्न पाउँ भन्दै धनकुटाबाट निर्वाचित नेकपाका सांसद् राजेन्द्र राईले समय माग गर्दै उभिएका थिए । तर, नेकपाका नेता सुवासचन्द्र नेम्वाङले राईलाई बोल्न नदिएपछि अरु सांसद्हरु समेत अलमलमा परेका छन् ।
बुधबार दिउँसो संघीय संसद् भवन नयाँ बानेश्वरमा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक बोलाइएको थियो । सांसद्हरुले केही बोल्न पाइएला भन्ने सोचेका थिए तर राईलाई बोल्न नदिएपछि कसैले पनि उठ्ने आँट गरेनन् ।
बैठकको सुरुमा नै केही बोल्न भन्दै राईले हात उठाएपछि नेम्वाङले ‘यी कुरा पछि गरौंला, अहिले होइन’ भनेर राइको आवाज बन्द गराएका थिए ।
राइले बजेटका बारेमा चित्त नबुझेका कुरा बोल्नका लागि मन भएको तर समय नपाएकाले खिन्न भएको प्रतिक्रिया दिए । सरकारले मंगलबार आर्थिक वर्ष २०७५/०७६ को वजेट सार्वजनिक गरेको छ ।
राइले बोल्न नपाएकोमा अरु सांसद्हरुको पनि आपत्ति रहेको छ । उनीहरुले पार्टी निरंकुश शैलीमा अघि बढेको आरोपसमेत लगाएका छन् । ‘ जनताले दिनरात फोन गरेर सोधिरहन्छन् तर के भनेर ढाँट्ने होला ’ सत्ताधारी एक सांसद्ले भने ‘ वजेटले प्रमुख नेताको स्वार्थमात्र पूरा गरेको छ, हामी सांसद्को भावना समेटेको छैन यो ठूलो अन्याय हो ।’