धनकुटा, १७ जेठ । प्रजातान्त्रिक आन्दोलनका सेनानीका रुपमा चिनिने धनकुटाका दगलसिंह सेन लिम्बुको सालिक निर्माण गरिएको छ । साँगुरीगढी गाउँपालिका–५ हात्तिटारको चौविसे उद्यानमा लिम्बुको पूर्णकदको सालिक निर्माण गरिएको हो ।
१ नं. प्रदेश प्रमुख डा.गोविन्द सुब्बाले सालिक अनावरण गरेका हुन् । सोहि अवसरमा प्रदेश प्रमुख सुब्बाले स्वर्गीय सेनानी लिम्बुका छोरा जनकसिंह सेन लिम्बुद्धारा सम्पादित ‘दगलसिंह सेन एक प्रतिभा अनेक’ स्मृति संगालो पुस्तकसमेत विमोचन गरे ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख सुब्बाले धनकुटाका मुक्ति सेनाका कमाण्डर स्वर्गीय लिम्बुले राणा विरोधी आन्दोलन तथा संघर्षमा साहसपूर्वक लडेर सफलता प्राप्त गरेको बताए ।
लिम्बु २००७ को क्रान्तिमा राणाविरोधी मुक्ति सेनाको धनकुटा कमाण्डर थिए । उनी २०१५ को आम निर्वाचनमा धनकुटाबाट सांसदमा विजयी भएका थिए ।
लिम्बुका परिवारले ७ लाख रुपैयाँको लागतमा पूर्णकदको शालिक निर्माण गरेका हुन् । चौविसे उद्यानलाई भने शान्ति तथा पुनर्निमाण मन्त्रालयले ३ वर्षका लागि प्रत्येक वर्ष साँढे २ लाखका दरले सहयोग गर्दै आएको छ ।