काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र प्रदेश नं १ विजयी भएका छन् ।

Advertisement

कीर्तिपुरस्थित त्रिबी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले प्रदेश नं ७ लाई १७४ रनको भारी अन्तरले पराजित गर्दै विजयी भयो । त्यस्तै यता प्रदेश नं १ ले प्रदेश नं २ लाई ६८ रनले पराजित गर्दै विजयी भयो ।

टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३२४ रनको विशाल योगफल बनाइयो । पुलिसका लागि शुरुआती व्याट्सम्यान सुनील धमलाले सर्वाधिक ८३ रनको योगदान दिए । उनले ११३ बल खेल्दै ९ चौकाको मद्दतमा ८३ रन जोडेका थिए । उनी खेलको म्यान अफ द म्याचसमेत घोषित भए ।

त्यस्तै आरिफ शेखले ५७, कप्तान मञ्जित श्रेष्ठले ४९, दिलीप नाथले २७, दीपेन्द्र सिंह ऐरीले २५, कुशल भुर्तेलले २२ तथा सिद्धान्त लोहनीले २६ रन जोडे । बलिङतर्फ प्रदेश ७ का शेर मल्लले दुई विकेट लिए ।

तीन सय २५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश नं. ७ ले ब्याटिङ गर्दै गर्दा खेल वर्षाले प्रभावित भयो । वर्षा रोकिएपछि शुरु भएको खेल ३७ ओभरमा छोट्याइएको थियो । त्यसपछि प्रदेश नं. ७ ले ३०५ रनको नयाँ लक्ष्य पायो ।

उसका लागि अरुण ऐरीबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । ऐरीले सर्वाधिक ७० रनको योगदान दिए ।

बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले चार तथा ललित भण्डारीले दुई विकेट लिए । प्रतियोगितामा पुलिसको यो पहिलो जित हो ।

मूलपानी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा प्रदेश नं. १ ले प्रदेश नं. २ लाई ६८ रनले हरायो । प्रदेश नं. १ ले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२३ रन बनाएको थियो ।

प्रदेश नं. १ का लागि सन्दीप ढुंगानाले सर्वाधिक ५१ रन जोडे भने फिर्दोश अन्सारीले ३७ तथा श्रवन यादवले अविजित ३४ रनको योगदान दिए ।

यता बलिङतर्फ प्रदेश नं. २ का संंसेद शेखले चार, मेहबुब आलमले दुई तथा हरिनारायण साहले एक विकेट लिए । दुई सय २४ रनको लक्ष्य पछ्याएको प्रदेश नं. २ ले १७ ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । त्यसपछि खेल ३४ ओभरमा झारियो र प्रदेश नं. २ ले २१४ रनको नयाँ लक्ष्य पायो ।

त्यसपश्चात् ३० ओभरमा सबै विकेट गुमाउँदै प्रदेश नं. २ ले १४५ रनमै समेटियो । प्रदेश नं. २ का लागि हरिशंकर शाहले सर्वाधिक ४४ रन जोडे तर पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङतर्फ प्रदेश नं १ का पुष्प थापा र मिनास थापाले समाज ३/३ विकेट लिए । कप्तानसमेत रहेका पुष्प थापा खेलको म्यान अफ द म्याच चुनिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!