संगालोखबर सम्वाददाता

धनकुटा, १३ जेठ । धनकुटा नगरपालिका भित्रका जातजातिहरुको संस्कृतिमा आधारित नृत्यहरुबारे सचेतना अभिवृद्धि सम्बन्धि कार्यशाला सञ्चालन गरिएको छ । धनकुटा नगरपालिकाको सहयोगमा हाम्रो बहुमुखि पाठशाला धनकुटाले दुई दिने कार्यशाला सञ्चालन गरेको हो ।

Advertisement

कार्यक्रममा धनकुटा नगरपालिकामा रहेका विभिन्न जातजातिका भेषभुषासहित मौलिक संस्कृतिमा आधारित नृत्यहरुको छलफल तथा प्रस्तुती गरिएको आयोजक सस्थाका सरोज भूजेलले जानकारी दिए ।

कार्यशाला उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पश्चिमा शैलिमा रमाउने चलन बढ्दै गएर मौलिक संस्कृति हराउन थालेको प्रति चिन्ता व्यक्त गरे ।

पर्यटकहरु स्थानीय भाषा संस्कृतिमा रमाउन आउने भएकाले त्यसलाई जोगाउन नगरपालिका लागिपरेको बताउँदै तामाङले विशेष गरि धनकुटा नगरपालिकामा मात्रै बसोबास रहेका आठपहरिया राई जातिको संस्कृति संरक्षणलाई प्राथमिकतामा राखिने बताए ।

यस आर्थिक वर्ष आठपहरिया राईको पहिरन सिलाईकटाई तालिम सञ्चालन गरेको र आगामी आर्थिक वर्षबाट चुलिवनमा आठपहरिया संग्रहालय निर्माण तथा नजिकका घरमा होमस्टे सञ्चालन गरिने उनले बताए ।

कार्यक्रममा धनकुटा नगरपालिकाका पर्यटन शाखा प्रमुख विकास अधिकारी, धनकुटा नगरपालिका–७ का वडा सदस्य सन्देश राई, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ र संगालोखबर अनलाईनका सह–सम्पादक ईश्वर थापाले हाम्रो बहुमुखि पाठशालाले धनकुटामा नयाँ कामको सुरुवात गरेको भन्दै सफलताको शुभकामना दिएका थिए ।

शनिवारबाट सुरु भएको कार्यशाला आईतबार सम्पन्न भएको हाम्रो बहुमुखि पाठशालाका संरक्षक मिनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!