धनकुटा, २ जेठ । युवा संघ नेपालको २८ औँ स्थापना दिवस पारेर जिल्ला युवा संघ धनकुटाले फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
धनकुटाको छारागाँउमा रहेको मार्गेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत १८ जना फरक क्षमता भएका विद्यार्थीसहित अन्य बिद्यार्थीलाईसमेत शैक्षिक सामाग्री वितरण गरिएको हो ।
विद्यार्थीहरुलाई कपि, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको युवा संघका जिल्ला सचिव कमल अधिकारीले जानकारी दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य निरन राई, एमाले नेता नरेन्द्र पोख्रेल, अर्जुन छारा, जम्सेर राई, युवा संघका केन्द्रिय सदस्य डिप्लव राई, जिल्ला अध्यक्ष केशर तुम्सा लगायतले बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।
उक्त विद्यालयले २०५३ सालदेखि फरक क्षमताका विद्यार्थीलाई पढाउँदै आएको छ ।






















