सुर्खेत। प्रदेश ६ को दक्षिणी प्रस्थानविन्दु भेरीगंगा नगरपालिकाको मध्यभागबाट भेरी नदी बग्छ । भेरीको पानी डाइभर्सन गरेर बबईसम्म पुर्‍याउन राष्ट्रिय गौरवको आयोजनाले गति लिइसकेको छ । तर, भेरी वरपरका बस्तीहरू भने सधैं काकाकुलझैं छन् । स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारहरूका लागि खानेपानी मुद्दा यहाँ मुख्य नारा बन्ने नै भयो । त्योभन्दा बढी वडा नं. ९ को ‘पानी राजनीति’ रोचक देखिएको छ ।

Advertisement

मुख्य प्रतिस्पर्धी दलहरू कांग्रेस र एमालेले गाउँमा राजनीतिक संगठन मात्र गठन गरेका छैनन्, डिप बोरिङबाट पार्टीका शुभेच्छुकलाई खानेपानी उपलब्ध गराएर पानी राजनीति पनि गरिरहेका छन् । स्थानीयले ती डिप बोरिङको नाम ‘कांग्रेस कुवा’ र ‘एमाले कुवा’ राखेका छन् ।

दुई वर्षअघि कांग्रेस कार्यकर्ता राजु रसाइलीले डिप बोरिङका लागि आफ्नो बारीमा कुवा खने । पानी निस्क्यो पनि । तर, उनले सिंगो गाउँलाई पानी बाँड्न कन्जुस्याइँ गरे । कतिसम्म भने छेवैका एमाले कार्यकर्ता गोपाल ददेल र उनका छिमेकीलाई समेत खानेपानी दिन अनिच्छा देखाए । त्यो झोँकमा ददेलले अर्को कुवा खने । ‘एक्लै कुवा खनेँ । भूमिगत जलस्रोतले पनि प्राविधिक सहयोग गरेको छ,’ एमाले कार्यकर्ता ददेलले भने, ‘मेरो साढे ३ लाख व्यक्तिगत खर्च भयो । तर, अहिले खानेपानी वितरण गर्न पाउँदा सन्तोष मिलेको छ ।’

उक्त बोरिङबाट गाउँका १ सय २० परिवारलाई खानेपानी वितरण भइरहेको छ । पहिले पानी बाँड्न नमानेका रसाइलीको बोरिङबाट पनि त्यत्तिकै घरधुरीले पानी पाइरहेका छन् । मोटर लगाएर डिपबोरिङबाट पानी तान्छन् । अनि घरघरसम्म बिछ्याइएका पाइपबाट वितरण गर्छन् । ‘जेजे नाम दिए पनि गाउँमा पानीको सुविधा भएको छ,’ ६० वर्षीय गोरे रसाइलीले भने ।

खानेपानी वितरण दिगो बनाउन प्रत्येक घरबाट विद्युत् महसुल उठाउने गरिएको छ । उपभोक्ताले मासिक १ सय ७० रुपैयाँ खानेपानी शुल्क तिर्दै आएका छन् । ‘खानेपानीमा कांग्रेस–एमाले नगरौं’ भन्दाभन्दै पनि स्थानीयमा त्यो भावना बनेको दुवै अगुवा बताउँछन् ।

कतै मुहान सुकेर त कतै पानी घटेर गाउँमा निर्माण भएका खानेपानीका धाराहरूमा पानी आउन छाडेको थियो । त्यो अभावका बेला व्यक्तिगत पहलमा खानेपानी व्यवस्था गरेकाले दुवै अगुवा आफ्नो वडामा लोकप्रिय पनि छन् । दुवैले वडाध्यक्षका लागि आकांक्षा पनि व्यक्त गरेका थिए । तर, एमालेले ददेललाई वडा सदस्य उम्मेदवार बनायो भने रसाइलीले टिकट पाएनन् । ‘खानेपानी चुनावी नारा भएका बेला योगदानको कदर हुने ठानेको छु,’ ददेलले भने ।

पानी मुख्य नारा 
साबिकका मैनतडा, छिन्चु, रामघाट र लेकपराजुल गाविस मिलेर बनेको भेरीगंगा नगरपालिकाको निर्वाचनमा प्राय: सबै राजनीतिक दलहरूले खानेपानी र सिँचाइलाई मुख्य चुनावी नारा बनाएका छन् । ‘छेवैमा भेरी बग्दा समेत हाम्रा गाउँबस्ती सुख्खा छन्,’ वडा नं. ९ का कांग्रेस वडाध्यक्ष उम्मेदवार प्रेमबहादुर आग्रीले भने, ‘खानेपानी र सिँचाइका लागि सक्दो प्रयास गर्नेछौं ।’

एमालेका मेयर उम्मेदवार यज्ञप्रसाद ढकाल खानेपानी र सिँचाइ आयोजनाका लागि दीर्घकालीन योजना ल्याउने बताउँछन् । ‘यहाँ जग्गाको कमी छैन । सिँचाइ नहुँदा उब्जनी नभएर युवाहरू काम खोज्दै कालापहाड जानुपरेको छ,’ उनले भने, ‘त्यो रोक्न पनि ठूलो आयोजना आवश्यक छ ।’

माओवादी केन्द्रका मेयर उम्मेदवार कृष्णप्रसाद गिरीले सिँचाइ र कृषि आधुनिकीकरणमा आफ्नो पार्टीले मुख्य प्रतिबद्धता जनाएको बताए । ‘घरदैलोमा जहाँ पुग्छौं, खानेपानी र सिँचाइको मात्र माग छ । त्यसैले हाम्रो प्रतिबद्धता पनि त्यसैमा छ,’ उनले भने । राप्रपाका उपमेयर उम्मेदवार चन्द्रकला बादीले पनि आफूले जिते पानीका लागि पहल गर्ने बताइन् । भेरीगंगा नगरपालिकामा २३ हजार १ सय १२ मतदाता छन् ।

मतदाता रिझाउँदै उम्मेदवार
हेटौंडा– निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार समर्थकसहित भोट माग्न गाउँ पसेका छन् । उनीहरू टन्टलापुर घामको पर्वाह नगरी दुर्गम बस्तीसम्मै पुगेर भोट मागिरहेका छन् । मतदाता पनि उम्मेदवारसामु विभिन्न माग राख्दै छन् ।

कैलाश गाँउपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारहरूलाई कालिकाटारस्थित खिर्की र नामटारको गोपिराङका चेपाङले नागरिकता र वर्षौंदेखि खनीखोस्रो गरेको जमिनको लालपुर्जा उपलब्ध गराइदिन माग गरे । करिब ४० घरधुरी भएको उक्त बस्तीमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेदवार पुगेका छन् । स्थानीय बासिन्दाले उनीहरूसँग मनहरी खोलामा झोलुङ्गे पुल हालिदिन पनि माग गरे । मकवानपुरका ५ विकट गाविस समेटेर बनाइएको कैलाश गाउँपालिकामा चेपाङ समुदायको बाहुल्य छ ।

एमालेबाट गाउँपालिका प्रमुखका उम्मेदवार टंक मोक्तानले चेपाङलाई सहज ढंगले नागरिकता एवं लालपुर्जा उपलब्ध गराउने, विद्यालयमा ५ कक्षासम्म पठनपाठन गर्ने छात्रछात्रालाई दिवाखाजा व्यवस्था गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।

राक्सिराङ गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार राजकुमार मल्लले गाउँ–गाउँमा मोटरबाटो पुर्‍याउने र गाँजाखेती विस्थापित गर्न वैकल्पिक खेती व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उक्त गाउँपालिकाका चेपाङ पनि उम्मेदवारसँग नागरिकता र जग्गाधनी पुर्जा माग गरेका छन् । उक्त गाउँपालिकामा माओवादीतर्फबाट युसाई चेपाङ प्रमुख पदमा उम्मेदवार छन् । उनले चेपाङलगायत यस क्षेत्रको विकासका निम्ति आफूलाई विजयी गराउन अनुरोध गरेका छन् । गाउँपालिका उपप्रमुखमा एमालेले सुन्तली चेपाङलाई टिकट दिएको छ ।

इन्द्रसरोवर गाउँपालिकाका मतदाताले भने मार्खु र फाखेललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न जोड दिएका छन् । भोट माग्न आएका एमाले उम्मेदवार जीवन लामा, कांग्रेसका विश्वलाल लामा र माओवादी केन्द्रका विक्रम सिंहसमक्ष उनीहरूले यही माग राखे ।

स्थानीयले सचेत र पढेलेखेका व्यत्तिलाई अघि सारेर उम्मेदवारका सामु आफ्ना माग खुलस्त राख्ने गरेका छन् । ‘पहिलेजस्तो मतदाताहरूलाई फोस्रो आश्वासन दिएर अब कसैले झुक्याउन सक्तैन,’ फाखेलका ३८ वर्षीय दोर्जेसिंह लामाले भने, ‘मतदातासमक्ष प्रतिबद्धता गरेका कुरा जितेपछि पूरा नगर्नेलाई गाउँपालिकाको कार्यालयमै गएर जनताले घेराउ गर्छन् ।’ – जनक नेपाल/ईकान्तिपुर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!